काठमाडौं । सरकारले निजी अस्पतालबाट प्रदान हुने सेवामा थप ३ प्रतिशत कर असुल्ने निर्णय गरेको छ।
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत सरकारले शिक्षासँगै र स्वास्थ्य क्षेत्रका निजी संस्थामाथि समेत नयाँ शुल्क व्यवस्था लागू गर्ने जनाएको हो। बजेटमा घोषणा गरिएको यो व्यवस्था कार्यान्वयनका लागि आवश्यक कानुनी तथा प्रशासनिक प्रक्रिया आगामी आर्थिक वर्षदेखि लागू हुने गरी तयारी थालिएको समेत बजेटमा उल्लेख छ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संसदमा बजेट प्रस्तुत गर्दै निजी विद्यालय तथा अस्पतालले प्रदान गर्ने सेवामा ३ प्रतिशत शुल्क असुल्ने व्यवस्था गरिएको बताए।
नयाँ व्यवस्थापछि निजी विद्यालयको शुल्क तथा निजी अस्पतालमा उपचार खर्च बढ्ने निश्चित भएको छ। शुल्कको भार संस्थाले आफैं वहन गर्ने वा सेवाग्राहीमाथि सार्ने भन्ने विषय भने सम्बन्धित संस्थाको निर्णयमा निर्भर रहने सरकारले बताएको छ।
सरकारले शिक्षा र स्वास्थ्यजस्ता सामाजिक क्षेत्रमा निजी क्षेत्रको भूमिका महत्वपूर्ण भन्दै आएको भए पनि यो निर्णयले आम सर्वसाधारणमाथि व्ययभार झन थपिँदा जनजिवन थप असहज बन्ने देखिएको छ।
आम्दानी कर लाग्नु स्वभाविक भए पनि बिरामी र बिद्यार्थीबाट कर असुल गर्ने सरकारको निर्णय अपरिपक्व, अदुर्दर्शी एवम् अ- व्यवहारिक भएको भन्दै चौतर्फी आलोचना सुरु भएको छ।




















प्रतिक्रिया