Logo

खेलकुद

एसियन गेम्स छनोट क्रिकेट: चीनविरुद्ध नेपालको फराकिलो जित



काठमाडौं । एसियन गेम्स पुरुष क्रिकेट छनोटमा नेपालले चीनमाथि फराकिलो जित निकालेको छ ।

आइतबार सिंगा ओभल ग्राउन्ड, सिंगापुरमा भएको पहिलो खेलमा नेपालले चीनमाथि २ सय २२ रनको फराकिलो जित निकालेको हो ।

नेपालले दिएको ३१४ रनको विशाल लक्ष्य पछ्याएको चीन १९.२ ओभरमा ९२ रनमा अलआउट भयो ।

चीनकालागि झेङ्ग शेन्जियानले सर्वाधिक ३१ रनको योगदान दिए । यस्तै, जियानहाओ डुले १७ र कप्तान तियान सेनकुनले १२ रन जोडे । अन्य ब्याटरले भने दोहोरो अंकमा रन पनि जोड्न सकेनन् ।

नेपालकालागि कुशल मल्लले ३ तथा सोमपाल कामी र सन्दीप लामिछानेले समान २-२ विकेट लिए ।

यस्तै, नन्दन यादवले भने १ विकेट लिए । त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले कुशल भुर्तेलको शतकको मद्दतमा निर्धारित २० ओभरमा २ विकेट गुमाएर ३१३ रनको योगफल तयार पारेको थियो ।

नेपालकालागि कुशल भुर्तेलले १२९ रनको योगदान दिए । भुर्तेलले ४३ बलमा ५ चौका र १६ छक्का प्रहार गरे । यस्तै, कुशल मल्ल ८५ र रोहितकुमार पौडेल ६९ रनमा अविजित रहे । मल्लले ४७ बलमा ८ चौका र ५ छक्का प्रहार गरे । २१ बल खेलेका रोहितले ५ चौका र ७ छक्का प्रहार गरे ।

आसिफ शेखले भने १० बलमा ११ रन जोडे । नेपालले टी-२० आईमा तयार पारेको यो दोस्रो ठूलो योगफल हो ।

यसअघि नेपालले एसियन गेम्समा मंगोलियाविरुद्ध ३१४ रनको योगफल बनाएको थियो । चीनका लागि एमए कियानचेङ र देङ जिनकीले समान १-१ विकेट लिए ।

प्रकाशित मिति : १७ जेष्ठ २०८३, आईतवार ११:३०   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।