Logo

खेलकुद

झापा ‘बी’ डिभिजनमा बढुवा हुँदा वीरगन्ज रेलिगेसनमा



काठमाडौं । मोफसलको झापा फुटबल क्लब सहिद स्मारक ‘सी’ डिभिजन लिगको एक खेल अगावै ‘बी’ डिभिजन लिगमा बढुवा भएको छ । सोमबार सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा भएको १२औं चरणको खेलमा विरगंज युथ एकेडेमीलाई ५–० ले पराजित गर्दै झापाले एक खेल अगावै ‘बी’ डिभिजन लिगमा आफ्नो स्थान पक्का गरेको हो ।

झापालाई जित दिलाउन पुजन राईले चार गोल गर्दा अर्को एक गोल सन्तोष लावतीले गरे । यस्तै, आजको हारसँगै वीरगञ्ज युथ भने ‘सी’ डिभिजन लिग छनोटमा घटुवा भएको छ ।

जितसँगै शीर्ष स्थानमा उक्लिएको झापाले ३१ अंक जोडेको छ । जुन दोस्रो स्थानको प्लानिङ ब्वाइज युनाइटेड क्लबको भन्दा तीन अंक बढी हो । यस्तै, तेस्रो स्थानको आरसी ३२ फुटबल एकेडेमीको पनि २८ अंक छ । वीरगन्जको १२ खेलबाट ५ अंक छ ।

झापाले लिगमा आरसी ३२ लाई हराएको र प्लानिङ ब्वाइजसँग बराबरी गरेको कारण एक खेल अगावै दोस्रो डिभिजनको टिकट काटेको हो । झापाले अन्तिम खेलमा स्वयम्भू क्लबसँग खेल्नेछ । यस्तै, प्लानिङ ब्वाइजले ओसिस क्लब र आरसी ३२ ले स्पोर्टस एकेडेमी साँगासँग खेल्नेछ ।

आजै भएको पहिलो खेलमा प्लानिङ ब्वाइजले समाज कल्याण खेलकुद केन्द्रलाई ४–० ले पराजित गरेको थियो । आजको खेलसँगै सी डिभिजन लिगबाट घटुवामा पर्ने दुई टोलीको टुङ्गो लागेको छ । तालिकाको पुछारमा रहेको ओसिस क्लब यसअघि नै घटुवामा परिसकेको छ । अब, प्लानिङ ब्वाईज क्लब र आरसी ३२ मध्य एक दोस्रो डिभिजनमा बढुवा हुनेछन् ।

प्रकाशित मिति : १६ जेष्ठ २०७९, सोमबार १६:२९   :  बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।