नेपालमा कोरोना संक्रमणदर घट्दै गएको पछिल्ला तथ्यांकले देखाएका छन् । अस्पतालमा सिकिस्त बिरामीको संख्या पनि घट्दै गएको छ । तर लकडाउन खुलेपछि कोरोना संक्रमण फेरि बढ्न सक्ने विज्ञहरूले औंल्याएका छन् ।
धुलिखेल अस्पतालका जनस्वास्थ्यविद् डा.विराज कर्माचार्यले लकडाउन खुलेपछि संक्रमण बढ्न सक्ने सम्भावना औंल्याए । ‘तर यसअघिकै दरमा भने बढ्दैन’, उनले थपे । अहिले पनि केही जिल्लामा संक्रमणदर बढिरहेको र लकडाउनपछि ती ठाउँबाट मानिस सहरतिर प्रवेश गरेमा बढ्न सक्ने डा. कर्माचार्यको विश्लेषण छ ।
दोस्रो लहरमा एकै परिवारका धेरै जनाको मृत्यु भएकाले मानिसहरू थप सचेत बन्दा संक्रमणदर घटेको वीर अस्पतालका फिजिसियन डा. ध्रुव गैरे बताउँछन् । ‘लकडाउन गरेको तीन सातादेखि संक्रमण घट्दै गएकाले लकडाउन खुलेपछि बढ्ने सम्भावना रहन्छ’, उनले भने । ठूला शहरहरूमा एक साता लकडाउन बढाउनुपर्ने डा. गैरेको सुझाव छ । ‘लकडाउन खुल्नेबित्तिकै हिँडडुल बढ्छ। हिँडडुल बढ्ने बित्तिकै संक्रमण बढ्छ’, उनले भने ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार देशका १४ जिल्लामा संक्रमणदर बढ्दो क्रममा रहेको जनाएको छ । मन्त्रालयका अनुसार उदयपुर, तेह्रथुम, पाँचथर, भोजपुर, संखुवासभा, दोलखा, नुवाकोट, रसुवा, बाग्लुङ, मुस्ताङ, रोल्पा, जुम्ला, मुगु, रुकुम पश्चिम, बाजुरालगायतका जिल्लामा संक्रमणदर बढ्दो क्रममा छ ।
मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद पौडेल संक्रमण घट्दै जानुमा आवात–जावतमा लगाइएको रोक नै प्रमुख कारण भएको बताउँछन् । संक्रमणदर घट्ने बित्तिकै निषेधाज्ञा खुल्ने हो भने गत वर्षकै जस्तो पुनः ह्वात्तै बढ्न सक्ने उनको भनाइ छ ।
यो समाचार आजको नागरिक दैनिकमा छ ।




















प्रतिक्रिया