काठमाडौं । नेपाली कांग्रेसका नेता गगनकुमार थापाले अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्ष २०७९÷०८० का लागि ल्याएको बजेटले उपयुक्त प्राथमिकता समातेको बताएका छन् । सरकारले जेठ १५ गते ल्याएको बजेटमाथिको सैद्धान्तिक छलफलमा बोल्दै उनले बजेटको स्वागत गरेका हुन् ।
‘हाम्रो अर्थतन्त्रको संकटको चुरो भनेको व्यापार घाटा हो । व्यापार घाटा कम गर्न उत्पादन र उत्पादकत्व बढाउनुपर्थ्यो । त्यसैले आयातबाट उत्पादकत्वको स्पष्ट दृष्टिकोणका साथ अर्थमन्त्रीले ल्याउनुभएको बजेटले उपयुक्त प्राथमिकता, गति र दृष्टिकोण समातेको छ,’ उनले भने, ‘म यसको स्वागत गर्छु ।
उनले बजेटले उत्पादनमा आधारित अर्थतन्त्रको पक्षपोषण गरेको जिकिर गरे । ‘यसका लागि प्राथमिकतामा कृषि नै रहनुपर्थ्यो । करिव ६५ प्रतिशत जनसंख्या कृषिमा भएकोका मात्र होइन, उद्योगको ब्याकवार्ड लिंकेजका लागि पनि कृषिमा लगानी नगरीकन उत्पादकत्व बढ्न सम्भव थिएन ,’ उनको भनाइ थियो ।
साथै उनले स्वास्थ्य बिमा कार्यक्रम बिमा कम्पनीमार्फत् अघि बढाउने अर्थमन्त्री शर्माको योजनाको भने विरोध गरेका छन्। पूर्व स्वास्थ्यमन्त्रीसमेत रहेका थापाले सामाजिक सुरक्षाका विषयमा नेपालले लिएको दृष्टिकोण नै शर्माले नबुझेको टिप्पणी गरे ।




















प्रतिक्रिया