Logo

खेलकुद

विश्वकप लिग टु : नेपाल अमेरिकासँग पराजित



काठमाडौं । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग टु अन्तर्गतको त्रिदेशीय सिरिजको अन्तिम खेलमा नेपाल अमेरिकासँग पराजित भएको छ । बिहीबार बिहान सकिएको खेलमा नेपाललाई अमेरिकाले ३९ रनले हराएको हो ।

टेक्ससस्थित मोसा क्रिकेट मैदानमा अमेरिकाले दिएको २ सय ४६ रनको लक्ष्य पछ्याएको नेपालले ४७ ओभर ४ बलमा अलआउट हुँदै २ सय ६ रन मात्र बनाउन सक्यो । नेपालका लागि आरिफ शेखले ६३ रनको अर्धशतकीय इनिङ खेलेपनि टोलीलाई जित दिलाउन सकेनन् ।

यस्तै सोमपाल कामीले ४७ रन जोड्दा देव खनाल ३४ रनमा आउट भए । आसिफ शेख १८, रोहित पौडेल १६ र कुशल भुर्तेल १० रनमा आउट भए । दिपेन्द्र सिंह ऐरीले ७, आदील अन्सारीले ४, करण केसीले १ र कप्तान सन्दीप लामिछाने सुन्य रन आउट भए ।

अमेरिकाका अलि खान र सौरभ नेत्राभाल्करले ३र३ विकेट लिए । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको अमेरिकाले ५० ओभरमा ७ विकेट गुमाएर २ सय ४५ रन जोडेको थियो । अमेरिकाका लागि अर्धशतकीय इनिङ खेलेका गजानन्द सिंहले ५८ रनको योगदान दिए । यस्तै सुशान्त मोदानीले ५४ रनको अर्धशतकीय इनिङ खेले ।

आरोन जोन्सले ४३ रन जोड्दा सैटिजा मुक्कामल्लले ३६ रन बनाए । निसर्ग पटेल १८ रन अविजित रहदा क्यामरुन स्टेभेनसन १६ रनमा अविजित रहे । नेपालका करण केसीले ३ विकेट लिए । सन्दीप लामिछानेले २ तथा सोमपाल कामी र दिपेन्द्र सिंह ऐरीले १÷१ विकेट लिए ।

यस जितसँगै अमेरिकाले सिरिजमा सुखद अन्त्य गरेको छ । सिरिज अन्तर्गत नै यस अघिको भेटमा नेपाल र अमेरिकाबीचको खेल ‘टाइ’ भएको थियो । लिग टु को अंक तालिकामा नेपाल पाँचौं स्थानमा रहेको छ । नेपालले १६ खेलमा १५ अंक जोडेको छ ।

अमेरिका २४ खेलमा २३ अंक जोडेर चौंथो स्थानमा रहेको छ । यस सिरिज अन्तर्गत नेपाल पहिलो खेलमा ओमानसँग १३ रनले पराजित भएको थियो । यस्तै ओमानविरुद्धको दोस्रो भेटमा नेपालले ७ विकेटको जित निकालेको थियो ।

प्रकाशित मिति : २ असार २०७९, बिहीबार १०:४६   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।