Logo

अर्थ

दुई घण्टा खुलेको शेयर बजारमा ७.५७ अंकको गिरावट



काठमाडौं । नेप्सेले शुक्रबार बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म दुई घण्टा कारोबार हुने गरी समय तय गरेअनुसार आज पहिलो कारोबार भयो । दिउँसो १ बजे बन्द भएको सेयर बजार ७.५७ अंकले घटेर १९७१.३६ बिन्दुमा आएर रोकिएको छ । यससँगै अब सेयर कारोबार साताको ६ दिन नै हुने भएको हो । शनिबार बन्द रहने कारोबार आइतबारदेखि बिहीबारसम्म भने अपरान्ह ११ बजेबाट तीन बजेसम्म चल्नेछ ।

शुक्रबार २२० कम्पनीको १५ हजार १६३ वटा कारोबारबाट २३ लाख ५५ हजार १ कित्ता शेयर किनबेच भएको छ । यस दिन ७३ करोड ६३ लाख १२ हजार १५७ रुपैयाँ बराबरको कारोबार भएको छ । शुक्रबार म्युचअल फन्डबाहेक सबै उपसमूहको मूल्य घटेको छ । जसमा सबैभन्दा धेरै जलविद्युतका लगानीकर्ताले गुमाएका छन् ।

शुक्रबार आँधीखोला लघुवित्त वित्तीय संस्थाको मूल्य सबैभन्दा धेरै ९.९९ प्रतिशतले बढेर ५९६.७० रुपैयाँ कायम भएको छ । सीवाईसी नेपाल लघुवित्तको मूल्य ४.०२ प्रतिशतले बढ्यो । लुम्बिनी जनरल इन्स्योरेन्स, सानिमा लाइफ इन्स्योरेन्सको मूल्य समेत धेरै बढ्नेमा रह्यो । बिहीबारबाटै कारोबारमा आएको रिभर फल्स पावरको मूल्य सबैभन्दा धेरै ५.९३ प्रतिशतले घट्यो । यसको मूल्य २७३ रुपैयाँमा झरेको छ ।

प्रकाशित मिति : ३ असार २०७९, शुक्रबार १४:२८   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।