काठमाडौं । करको दर हेरफेरमा अनधिकृत व्यक्तिको संलग्नताबारे छानबिन गर्न बनेको संसदीय विशेष समितिले तत्कालीन अर्थमन्त्री जनार्दन शर्मालाई छलफलका लागि बोलाएको छ । समितिको मंगलबार बसेको बैठकले शर्मालाई बोलाएर छलफल गर्ने निर्णय गरेको हो ।
समितिका एक सदस्यका अनुसार पहिला पूर्व अर्थसचिवहरुसँग छलफल गर्ने र त्यसपछि शर्मासँग छलफल गरिने छ । त्यसैगरि सीसीटीभीको हार्डडिस्क नेपाल प्रहरीको फरेन्सिक ल्याबमा पठाउने निर्णय गरेको छानबिन समितिले जनाएको छ ।
आर्थिक वर्ष २०७९/८० को बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिलाई संलग्न गराएर करको दर हेरफेर गरेको भन्दै प्रमुख प्रतिपक्षी नेकपा एमालेले संसदमा विरोध गरेको थियो । सत्तारुढ दलहरुबाटै समेत प्रश्न उठेपछि संसदले २२ असारमा विशेष समिति बनाएको थियो भने शर्माले त्यही दिन अर्थमन्त्री पदबाट राजीनामा दिएका थिए । समितिले अर्थ मन्त्रालयका अधिकारीहरुसँग छलफल गरे पनि कुनै निष्कर्षमा पुग्न सकेको छैन ।





















प्रतिक्रिया