काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी निर्वाचनपछि देशको नेतृत्व आफ्नो पार्टीले गर्ने दाबी गरेका छन् । शुक्रबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा भएको पार्टी समायोजन–ध्रुवीकरण तथा पार्टी प्रवेश कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
पूर्वप्रधानमन्त्री प्रचण्डले आगामी संघ र प्रदेशको निर्वाचनमा आउने चुनावमा माओवादीलाई देशको बागडोरको जिम्मा लिनबाट कसैले रोक्न नसक्ने बताए । माओवादी पुनः एकपटक पुनः स्थापित हुने दाबी गर्दै माओवादी पार्टी पुनः स्थापित हुन नसके संघीय लोकतान्त्रिक गणतन्त्र कमजोर हुने उनको भनाइ छ ।
अध्यक्ष प्रचण्डले पार्टीमा पछिल्लो समय प्रवेश गर्ने नेता–कार्यकर्ताको संख्या बढीरहेको भन्दै यसले माओवादीलाई एकपटक पुनः सरकार सञ्चालनको जिम्मा दिने बेला आइरहेको बताए । ‘आन्दोलनमा खेलेको भूमिकालाई कतै कमजोर हुन दिने छैन । नेपालमा विभेदमा भएका, पछि परेका वर्ग, समुदायको उत्थानका लागि नै माओवादीको आन्दोलन सुरु भएको हो’, उनले भने, ‘कहीँ न कहीँ एउटा निकै ठूलो डिजाइनअन्तर्गत माओवादीको बारेमा भ्रम छर्ने कुचेष्टा गरियो । माओवादीको आन्दोलनलाई कतै म कमी आउन दिने छैन । पार्टी प्रवेश कार्यक्रमले सिंगो देश र मधेसमा बलियो सन्देश प्रवाहित भएको छ ।’
त्यस्तै मधेसका सबैको हक अधिकार र पहिचानका लागि पार्टीले भूमिका खेलेको पनि उनले बताए । ‘मधेसका सबैको हक, अधिकार र पहिचाको लडाइँ राष्ट्रिय रूपमा स्थापित गर्ने पार्टीमा जुन बुझाइ रहेछ त्यसले मलाई खुसी बनाएको छ’, उनले भने ।




















प्रतिक्रिया