Logo

प्रमुख समाचार

साउन १३ र १४ गते पोखरामा महानगरका मेयरहरूको सम्मेलन हुँदै



पोखरा । पोखरामा नेपालका महानगरपालिकाका मेयरहरुको सम्मेलन हुने भएको छ । साउन १३ र १४ गते पोखरा महानगरको आयोजनामा मेयर सम्मेलन हुन लागेको हो । महानगर सञ्चालनका विद्यमान कानुन र आवश्यक सुधारका बारेमा छलफल गर्न तथा अनुभव आदान प्रदान गर्नका लागि कार्यक्रम राखिएको पोखराका मेयर धनराज आचार्यले बताए ।

उनका अनुसार गाउँपालिका र नगरपालिकाका समस्या सुनाउनका लागि आफ्नै संरचना भएपनि महानगरको छुट्टै संरचना नभएका कारण भेलाले साझा समस्या खोजेर समाधानका लागि सम्बन्धित निकायमा सुझाव दिनेछ । यसअघि पनि पोखराकै आयोजनामा मेयर सम्मेलन भएको थियो ।

सम्मेलनमा महानगरको संचालन कानुन फरक हुनुपर्ने आवाज उठे पनि कार्यान्वयनमा गएन । यसपालि पनि महानगरको छुट्टै सन्चालन ऐन निर्माणका लागि छलफल हुन सक्ने बताइएको छ । ‘धेरै चुनौति छन् । ती चुनौती पार लाउन आपसी भेटघाट र छलफल हुनुपर्छ,’ आचार्यले भने, ‘एउटा प्रक्रियाको सुरुवात मात्रै हो । यसपछि निरन्तर बैठक हुनेछ ।’

आचार्यले १ महिनाअघि देखि मेयर सम्मेलनको लागि निम्तो गरेका थिए । सबै महानगरका मेयरसँग छलफल गरेर भेला आयोजना गरिएको उनले बताए । ६ वटा महानगरमध्ये ललितपुर र भरतपुरमा पूरानै मेयर छन् भने अरु सबै महानगरमा नयाँ मेयर निर्वाचित भएका छन् । पुराना मेयरको अनुभव सुनेर नयाँ मेयरले कामको कार्ययोजना बनाउन सजिलो हुने पोखरा महानगरले जनाएको छ ।

सम्मेलनमा काठमाडाैंका मेयर बालेन साह, ललितपुर महानगरका मेयर चिरिबाबु महर्जन, भरतपुर महानगरका मेयर रेणु दाहाल, पाेखराकाे मेयर धानराज आचार्य र विराटनगर महानगरका नागेश कोइराला र वीरगंजका मेयर राजेशमान सिंह सहभागी हुने जनाइएकाे छ ।

प्रकाशित मिति : ८ श्रावण २०७९, आईतवार १३:०५   :  बजे

39
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।