काठमाडौं । सरकारले सन २०२३ देखि २०३३ लाई पर्यटन भ्रमण दशकका रुपमा मनाउने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री जीवनराम श्रेष्ठले आइतबार पर्यटन पुनरुत्थान कार्ययोजना–२०७९ सार्वजनिक गर्दै यस्तो पर्यटन दशक मनाइने बताए ।
पर्यटनमन्त्री श्रेष्ठले मन्त्रालयमा आयोजित एक कार्यक्रममा उक्त पुनरुत्थान कार्ययोजना सार्वजनिक गर्दै कार्ययोजनाले प्रमुख रुपमा सन् २०२३–२०३३ लाई पर्यटन भ्रमण दशकको रुपमा मनाउने उद्घोष गरे । यसअघि सन् २०२० लाई ‘नेपाल भ्रमण वर्ष’ घोषणा गरिएको भए पनि बीचमै सिर्जित कोभिड–१९ का कारण प्रभावित हुन पुगेको थियो ।
कोभिड–१९ को प्रभाव कम भएसँगै विस्तारै सुध्रँदै गएको विश्व पर्यटन बजारबाट पुनः पर्यटन आकर्षित गर्न सकिने भन्दै कार्ययोजनाले सन् २०२३ देखि २०३३ लाई भ्रमण वर्षको रुपमा अघि बढाउन सकिने बताएको हो । आर्थिक वर्ष शुरु भएसँगै पर्यटन क्षेत्रमा देखिएको सुधारात्मक संकेतपछि दुई तीन महिनाभित्र यस्तो घोषणा गर्न सकिने मन्त्रालयले जनाएको छ ।
सोही कार्ययोजनालाई सफल पार्न गैरआवासीय नेपाली संघ (एनआरएनए) को नेतृत्वमा ‘एक नेपाली एक विदेशी साथी नेपाल पठाऊ’ अभियान समेत चलाउने बताइएको छ । यस्तै, काठमाडौंमा पर्यटन केन्द्रित ‘होप अन होप अफ सिटी बस’ सञ्चालन गर्ने घोषणा समेत कार्यपत्रमा प्रस्तुत गरिएको छ ।





















प्रतिक्रिया