Logo

अर्थ

मौद्रिक नीतिपछि सेयर बजारमा हरियाली, २ अर्ब ७३ करोड बढीको कारोबार



काठमाडौं । मौद्रिक नीतिपछिको पहिलो कारोबार दिन सेयर बजारमा हरियाली छाएको छ । साताको पहिलो कारोबार दिनसमेत रहेको आइतबार नेप्से ६१.०५ अंकले वृद्धि भएर २०७८.५१ अंकमा बन्द भएको छ । आइतबार वित्त कम्पनी उपसूचक सर्वाधिक ७.२२ प्रतिशतले वृद्धि हुँदा विकास बैंक उपसूचक ५.१० प्रतिशले बढेको छ । यस्तै हाइड्रोपावर, लघुवित्त अन्य र व्यापार क्षेत्रका कम्पनीको सेयरमूल्य तुलनात्मक रुपमा उच्च वृद्धि भएको छ ।

नेप्सेसँगै कारोबार रकम पनि बढेर आइतबार बजारमा २ अर्ब ७३ करोड ९ लाखको कारोबार भएको छ । जसमध्ये शिवम् सिमेन्टको मात्रै ३९ करोड ७१ लाखको कारोबार हुँदा नेपाल पुनर्बिमा कम्पनीको ६ करोड ८३ लाखको कारोबार भएको छ । कारोबार अवधिभर १८० कम्पनीको सेयर कारोबार भएकोमा १७९ कम्पनीको सेयरमूल्य बढेको छ । एक कम्पनीको मात्रै सेयरमूल्यमा गिरावट भएको छ ।

युनिलिभर नेपालको सेयरमूल्य ०.३८ प्रतिशतले गिरावट हुँदा ३ वटा कम्पनीको सेयरमूल्य बढेर सकारात्मक सर्किट लेभलमा बन्द भएको छ । सेन्ट्रल फाइनान्स, समृद्धि फाइनान्स र मल्टिपर्पोस फाइनान्सको सेयरमूल्य बढेर सर्किट लेभलमा बन्द भएको हो ।

राष्ट्र बैंकले २५ लाखसम्मको मार्जिन प्रकृतिको सेयर धितो कर्जामा जोखिम भार घटाउनुको साथै कर्जाको प्रति बैंक ४ करोडको सीमा हटाउँदा लगानीकर्ताले त्यसलाई सकारात्क रुपमा लिएका छन् । जसले सेयर बजारमा सकारात्मक प्रभाव परेको हो ।

प्रकाशित मिति : ८ श्रावण २०७९, आईतवार १६:०९   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।