Logo

प्रमुख समाचार

बाबुराम भट्टराईको पार्टीमा ३ अध्यक्ष



जनता समाजवादी पार्टी (जसपा)बाट अलग भएका डा. बाबुराम भट्टराईको नेतृत्वमा ‘नेपाल समाजवादी पार्टी’ गठन गर्ने टुंगो लागेको छ । हिसिला यमीले पार्टीको नाम टुंगो लागेको बताइन् ।

‘पार्टीको नाम टुंगो लागिसकेको छ, निर्वाचन आयोगमा दर्ता प्रक्रियालगायत केन्द्रीय समितिबारे गृहकार्य भइरहेको छ,’ उनले भनिन्, ‘कार्यकारी अधिकारीसहित खस आर्य, आदिवासी जनजाति र मधेसी गरी तीन अध्यक्षको व्यवस्था हुने छ ।’ उनले पार्टीको विधानलाई अन्तिम रुप दिने काम भइरहेको जनाइन् ।

भट्टराईले आफूनिकट नेताहरूसँग केही दिनदेखि नयाँ पार्टी गठन गरेर जानेबारे छलफललाई तीव्रता दिएका छन् । भट्टराई जसपाको संघीय परिषद अध्यक्ष थिए । उपेन्द्र यादव पक्षले वीरगञ्जमा केन्द्रीय समिति बैठक गरी भट्टराईलाई जसपा संघीय परिषद अध्यक्षको जिम्मेवारीबाट हटाएका थिए ।

यसअघि भट्टराईले पनि काठमाडौंमा जसपा केन्द्रीय समितिको विस्तारित बैठक राखेका थिए । जसपाबाट अलगिएर भट्टराईले नेपाल समाजवादी पार्टी खोल्न लागेका छन् ।

उनीनिकट एक नेताले सेतोपाटीलाई दिएको जानकारीअनुसार केही दिनभित्र नेपाल समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता हुनेछ । ‘समावेशी लोकतान्त्रिक पार्टीको नाम परिवर्तन गरेर नेपाल समाजवादी पार्टी राख्न लागिएको छ,’ भट्टराईनिकट एक नेताले भने, ‘तीन जना अध्यक्ष रहने गरी पार्टी गठनको तयारी छ, को-को अध्यक्ष हुने भन्नेबारे टुंगोमा पुगिसकेको छैन ।’

भट्टराई आफूसहित तीन जना अध्यक्ष रहने गरी पार्टी गठन गर्ने तयारी गरिरहेका छन् ।

प्रकाशित मिति : १० श्रावण २०७९, मंगलवार १४:२९   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।