काठमाडौं । बुटवल उपमहानगरपालिकाको ज्योतिनगरमा विगतदेखि नै पहिरोले स्थानीयलाई सताइरहेकाे छ । यो वर्षको वर्षा याम सुरु भएयता ज्योतिनगरवासी कैयौँ रात निदाउँन पाएका छैनन् । ठूलो वर्षा हुनासाथ घर नै छाडेर अन्यत्र गएर बास बस्नुपर्ने बाध्यता उनीहरुको छ । गतवर्षको ठूलो पहिरोले धेरै घरहरु पुरिएपछि ५० घर जोखिममा परेका थियो । जोखिमा परेका घरपरिवार करिब एक महिना घर छाडेर अन्यत्र गएर बसेका थिए ।
ज्योतिनरवासी हिउँदमा पनि आकाश गर्जिन साथ रातभर जाग्राम बस्छन् । पहिरो प्रभावित बुटवलको वडा नम्बर ३ र ४ का स्थानीयलाई पहिरो जाने भन्दा पनि नियन्त्रण नभएकोमा दुखेसो छ । बुटवल उपमहानगरपालिकाले पहिरोको व्यवस्थापनमा प्रभावकारी काम नगरेको स्थानीय बताउँछन् । चुरेबाट खसेको पहिरोले गतवर्षको भदौ १३ र १४ गते ज्योतिनगरका एक दर्जन घर पुरिएका थिए । पहिरोले ठूलो क्षति पुर्याएपछि ज्योतिनगरवासीले दीर्घकालीन योजना बनाएर पहिरो नियन्त्रण गर्न माग गरेका थिए । पहिरो नियन्त्रणका लागि स्थानीय, प्रदेश र संघीय सरकारले ठोस योजना नबनाएको पिन स्थानीयको गुनासो छ ।
२०५५ साल भदौ २० गते सोही क्षेत्रमा गएको पहिरोले ६० घर पुरिएका थिए । त्यसपछि त्यहाँ पहिरो निरन्तर गइरहेको छ । तार जाली बिछ्याएर मात्र पहिरो नियन्त्रण हुन नसक्ने भएकाले विज्ञहरुको अध्ययनका आधारमा दीर्घकालीन नियन्त्रणको प्रयास गर्नुपर्ने पहिरो प्रभावित स्थानीयको माग छ । भुकम्प र चुरे क्षेत्रमा खनेको सडकका कारण थप ठूलो पहिरो जान सक्ने जोखिम कायमै छ । पहिरो प्रभावितहरुले सरकारलाई राहत नदिए पनि हुने तर पहिरो नियन्त्रण छिटै गर्न माग गरिरहेका छन् ।
हामी चिन्तित छौं : उपमहानगर प्रमुख पाण्डेय
बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले आफू ज्योतिनगर पहिरोको बारेमा चिन्तित रहेको बताए । ज्योतिनगरको पहिरो कतिबेला खस्छ भनेर अनुमान गर्न नसकिने भएकोले आफूहरु हरपल अपडेटमा रहेको उनले अनलाइनपानालाई बताए । उपमहानगरपालिकामा भएका स्काभेटरहरु त्यहीँ लगेर राखिएको र पहिरो व्यवस्थापनको लागि त्यहाँका केही स्थानमा वृक्षरोपण गरेको पनि उनकाे भनाइ छ । पहिरो बस्तिमा पस्न नदिन खोल्सीको व्यवस्था गरिएको उनले बताए ।
त्यहाँ पानी पर्ने बितिकै पहिरो र लेदो खस्न सुरु हुने भन्दै प्रमुख पाण्यले पानी धेरै पर्न थालेपछि जोखिम पनि बढ्दै जाने जानकारी दिए । पहिरो केही मात्रामा खस्दा खोल्सीबाट जाने र खोल्सीले थेग्न नसकेको अवस्था र लेदाेसहितकाे पहिराे खोल्सीमा जाम भएको अवस्थामा ज्योतिनगर बजारमा पस्ने जोखिम कायमै रहेको उनले बताए । प्रमुख पाण्डेयलका पहिरोको अति जोखिममा रहेका ९ घरका लागि पालिकाले व्यवस्थापन गरेको छ । लगभग ३५० घर, बुटवल बहुमुखी क्याम्पसलाई पहिरोले प्रभावित गर्ने उनले बताए ।

बुटवलका लागि ज्योतिनगर पहिरो सबै भन्दा ठुलो समस्याको रुपमा रहेको उनले बताए । पहिरो व्यवस्थापनमा बुटवल उपमहानगरले कतिकाे चासाे दिइरहेकाे छ (?) भन्ने प्रश्नको उत्तरमा प्रमख पाण्डेले भने- म निर्वाचित भएको दुई महिना नौ दिन भयो । यो अमा त्यो पहिरो क्षेत्रको निरीक्षण गर्न २० पटक गएँ, वृक्षरोपण गर्न ६ पटक गएँ । हिउँद लागेपछि पहिरो गइरहेका डाँडामा पानीको मात्रा कति छ भन्ने पत्ता लगाएर दीर्धकालीन व्यवस्थापनको योजना ल्याउने उपमहानगरपालिकाको योजना रहेकाे उनले सुनाए । यो वर्ष हालसम्म भने पहिरोले घर नपुरेको प्रमुख पाण्डेयले बताएका छन् ।
चेक ड्यामले पहिरो नियन्त्रणकाे प्रयास
ज्योतिनगर पहिरोमा हालसम्म पहिरो नियन्त्रका लागि बनाइएको बाँध (चेक ड्याम) ले नियन्त्रण गरिरहेको उपमहानगरपालिकाका प्राविधिक योगेश चापागाइँले बताए । चेक ड्याम भरिने अवस्थामा पुग्न लागेको बताउँदै उनले भने- पहिरो आयो भने व्यवस्थापनका लागि इलाका प्रहरी कार्यलय, सशस्त्र प्रहरी, नेपाली सेना र हामी कर्मचारीहरु पनि तयारी अवस्थामा बसेका छौं ।
यो एक वर्षमा सबै सरकारी कार्यलयहरु र संघ संस्थाहरुले ज्योतिनगरको पहिरो व्यवस्थापनको लागि लगभग पाँच करोड जति खर्च गरेको उपमहानगरपालिकाका प्राविधिक योगेश चापागाइँले बताए । उनका अनुसार त्यसमा पहिरो पन्छाउने, बाँध बनाउने र वृक्षरोपण गर्ने जस्ता कामहरु भएका थिए । अहिलेसम्म पहिरो बस्तिमा आइनपुगेकोले ती योजनाहरु प्रभावकारी नै देखिएको उनको भनाइ छ । कमलो चुरे पहाड भएकोले पहिरो गइरहेको उनले बताए ।




















प्रतिक्रिया