काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले आयुर्वेद तथा वैकल्पिक चिकित्साका सबै विधाको पहिचान, प्रतिनिधित्व र पेसागत सम्मान सुनिश्चित हुने गरी आयुर्वेद परिषद् ऐन संशोधन प्रक्रिया अघि बढाउनुपर्ने बताएकी छन्।
बुधबार मन्त्रालयमा आयुर्वेद तथा वैकल्पिक चिकित्साका विभिन्न विधाका प्रतिनिधि र सरोकारवालासँग भएको छलफलमा मन्त्री मेहताले सबै विधाका समस्या समेटेर समाधान खोज्नुपर्ने धारणा राखेकी हुन्।
छलफलमा आयुर्वेद, होमियोप्याथी, प्राकृतिक चिकित्सा, योग, अकुपञ्चर तथा चाइनिज मेडिसिनलगायत क्षेत्रका प्रतिनिधिहरूले आ–आफ्नो विधाको पहिचान, पेसागत सुरक्षा र परिषद्मा प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने माग राखेका थिए। उनीहरूले दर्ता, नियमन तथा सरकारी सेवामा समावेश हुने क्रममा देखिएका समस्या समाधान गर्न पनि आग्रह गरेका थिए।
सबै विधालाई एउटै परिषद्मा समेट्दा स्रोतसाधनको मितव्ययिता र नियमनमा सहजता हुने विषयमा समेत छलफल भएको थियो। परिषद्को नाम, संरचना, नेतृत्व र निर्णय प्रक्रियामा सबै विधाको पहिचान तथा प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने सुझाव सहभागीहरूले दिएका थिए।
छलफलमा आयुर्वेद परिषद्का अध्यक्ष डा. सिद्धार्थ ठाकुरले सरोकारवालाबाट प्राप्त सुझाव समेटेर ऐन संशोधनको प्रस्ताव तयार गरिने जानकारी दिए।
सबै विधाको अस्तित्व र सहअस्तित्वलाई स्वीकार गर्दै पहिचान, प्रतिनिधित्व र पेसागत समस्याको समाधानका लागि साझा समझदारी बनाएर अघि बढ्नुपर्नेमा सहभागीहरूले जोड दिएका थिए।




















प्रतिक्रिया