Logo

प्रमुख समाचार

जित्ने र टिक्नेलाई मात्रै उठाउँछौँ, बहुमत ल्याएर देखाउँछौँ : ईश्वर पोखरेल



प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा आफ्नो पार्टीले बहुमत ल्याउने दाबी गरेका छन् ।

पार्टी निकट विद्यार्थी संगठन अनेरास्ववियुले सोमबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले स्थानीय तह निर्वाचनमा सर्वाधिक जनताको लोकप्रिय मत पाएकाले एमालेले आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा बहुमत ल्याउने जिकिर गरे ।

उनले उमेदवार तय गर्दा व्यवस्थापकीय कमजोरी भएकाले स्थानीय तह निर्वाचनमा आफ्नो पार्टी पहिलो शक्ति बन्न नसकेको बताए । तर, अब हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा आफ्नो पार्टीले त्यस्तो गल्ती नगर्ने उनको भनाइ छ ।

एमालेले अब जित्ने र टिक्नेहरूलाई मात्रै निर्वाचनमा उमेदवार बनाउने उनको भनाइ छ ।

आउने निर्वाचनमा नेकपा (एमाले)ले बहुमतका साथ प्रतिनिधिसभामा पनि आफ्नो प्रतिनिधित्व गर्छ । तपाईंहरूको मनमा प्रश्न उठन सक्छ– हिजो स्थानीय तह निर्वाचनमा त भएन नि ? स्थानीय तह निर्वाचनमा हामीले जनताको सर्वाधिक लोकप्रिय मत प्राप्त गर्‍यौँ ।

स्थानीय तह निर्वाचनमा उमेदवारी दिने सन्दर्भमा व्यवस्थापकीय कमजोरी भएकाले हामीले सोचेजस्तो परिणाम ल्याउन नसकेको हो । अब हामी आउने चुनावमा समयमै उमेदवारी दिन्छौँ । जित्नेलाई उठाउँछौँ, टिक्नेलाई उठाउँछौँ, उनले भने ।

प्रकाशित मिति : ३० श्रावण २०७९, सोमबार १७:२८   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।