Logo

खेलकुद

नेदरल्याण्ड्सविरुद्ध पाकिस्तानको ‘क्लिन स्विप’



काठमाडौं । घरेलु टोली नेदरल्याण्ड्सविरुद्धको एकदिवसीय सिरिज पाकिस्तानले ‘क्लिन स्विप’ गरेको छ । गएराति सम्पन्न तेस्रो एकदिवसीयमा ९ रनले विजयी भएसँगै उसले तीन खेलको सिरिज ३–० ले ‘क्ल्नि स्विप’ गरेको हो ।

नेदरल्याण्ड्सले भने ‘क्लिन स्विप’ बाट जोगिने मौका गुमायो । तेस्रो खेलमा २०७ रनको लक्ष्य पछ्याएको नेदरल्याण्ड्सले ४९.२ ओभरमा १९७ रन बनायो । 

उसका लागि टम कूपरले १०५ बलमा चार चौकासहित सर्वाधिक ६२ रन बनाए । ओपनर विक्रमजित सिंहले ८५ बलमा सात चौकासहित ५० रनको योगदान दिए । तेजा निदामनुरुले २४ र मुसा अहमदले ११ रन जोडे ।

पाकिस्तानका नसीम शाहले पाँच  विकेट लिए । उनले एकदिवसीय अन्तर्राष्ट्रिय करिअरमा पहिलोपटक पाँच विकेट लिएका हुन् । मोहम्मद वसीम जुनियरले चार विकेट हात पारे । 

त्यसअघि रोटरडमस्थित हेजेलारवेग मैदानमा टस जितेर ब्याटिङ रोजेको पाकिस्तानले ४९.४ ओभरमा सबै विकेट गुमाउँदै २०६ रन बनायो । उसका लागि कप्तान बाबर आजमले १२५ बलमा सात चौका र दुई  छक्कासहित सर्वाधिक ९१ रनको योगदान दिए ।

मोहम्मद नवाजले २७, फखर जमानले २६, अघा सलमान अलीले २४ र मोहम्मद वसीम जुनियरले ११ रन जोडे । नेदरल्याण्ड्सका लागि बास डी लीडेले तीन, भिभियन किङ्गमाले दुई तथा आर्यन दत्त, शरिज अहमद र लोगन भान बीकले एक/एक विकेट लिए ।

सिरिजको पहिलो खेलमा पाकिस्तान १६ रन र दोस्रो खेलमा सात विकेटले विजयी भएको थियो ।

प्रकाशित मिति : ६ भाद्र २०७९, सोमबार ०७:१३   :  बजे

39
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।