Logo

पूर्वाधार

आजदेखि नारायणगढ–मुग्लिङ सडक दैनिक पाँच घण्टा बन्द हुने



चितवन ।नारायणगढ–मुग्लिङ सडकखण्डअन्तर्गत तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाइने भएपछि दैनिक पाँच घण्टा सडक बन्द हुने भएको छ।

जिल्ला प्रशासन कार्यालय चितवनले आजदेखि अर्को सूचना जारी नभएसम्म प्रत्येक दिन बिहान ११ बजेदेखि अपराह्न ४ बजेसम्म सडकमा सवारी आवागमन बन्द गर्ने निर्णय गरेको हो।

पहिरो रोकथामका क्रममा हुन सक्ने जोखिमलाई ध्यानमा राख्दै उक्त अवधिमा सबै प्रकारका सवारीसाधनको आवागमन रोक्न लागिएको सहायक प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद शर्माले जानकारी दिए।

तुइनखोला क्षेत्रमा पहिरो खस्ने क्रम नरोकिएपछि दीर्घकालीन समाधान खोज्न सडक डिभिजन कार्यालय भरतपुरले विशेष प्रविधि प्रयोग गरी रोकथामको काम अघि बढाउन लागेको हो।

गत वर्षदेखि वर्षायाममा मात्र नभई हिउँदमा समेत पहिरो खस्ने र सडक अवरुद्ध हुने समस्या देखिँदै आएको छ।

पहिरो नियन्त्रणका लागि ठूला ढुङ्गा हटाएर भिरको स्लोप व्यवस्थापन गर्ने, किला रड ठोकेर पहिरो प्रभावित क्षेत्रलाई बलियो बनाउने ‘नेलिङ’ प्रविधि प्रयोग गरिनेछ।

त्यस्तै, भिरबाट रसाएर आउने पानी बाहिर निकाल्न ‘होरिजोन्टल ड्रेन’ र बायोइन्जिनियरिङका उपायसमेत अपनाइने सडक डिभिजन कार्यालयले जनाएको छ।

स्लोपको प्रकृतिअनुसार द्विआयामिक र त्रिआयामिक ढाँचामा बायोइन्जिनियरिङ गरिने तथा पहिरो रोकथामको मुख्य विधिका रूपमा नेलिङ प्रविधि प्रयोग गरिने सडक डिभिजन कार्यालय भरतपुरका प्रमुख इन्जिनियर अमितकुमार शर्माले बताए।

गत असोजदेखि रोकिएको पहिरो रोकथामको काम पुनः सुरु गर्न लागिएको हो। पृथ्वी राजमार्गको कृष्णभीरमा सडक अवरुद्ध हुँदा पनि तुइनखोलामा रोकथामको काम भइरहेको थियो। तर, कृष्णभीरमा यातायात सञ्चालनमा आएपछि तुइनखोलामा सडक सहज बनाउन काम रोकिएको शर्माले बताए।

उनका अनुसार तुइनखोलामा पहिरो नियन्त्रणको काम सम्पन्न गर्न सडकको अवस्था हेर्दा कम्तीमा १५ दिन लाग्ने देखिएको छ।

यस अवधिमा काठमाडौँबाट मुग्लिङ–आँबुखैरेनी हुँदै पोखरा जाने पृथ्वी राजमार्ग भने सञ्चालनमा रहने प्रशासनले जनाएको छ।

सडक बन्द हुँदा यात्रु तथा सवारी चालकलाई पर्न जाने असुविधाप्रति प्रशासनले क्षमायाचना गर्दै यात्रा व्यवस्थापन सोहीअनुसार गर्न आग्रह गरेको छ।

प्रकाशित मिति : १३ मंसिर २०८३, आईतवार ०८:१०   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।