Logo

अन्तर्वार्ता

कृषि र पर्यटनमार्फत बन्दिपुरवासीको अर्थतन्त्र सुधार्छौं : अध्यक्ष थापा



देशकै महत्वपुर्ण पर्यटकीय गन्तव्यहरु मध्ये एक हो बन्दिपुर । त्यहाँ धेरै रमणीय स्थलहरु, मठ–मन्दिरहरु र विभिन्न महत्व बोकेका स्थलहरु छन् । बन्दिपुरलाई पहाडकी रानी भनेर पनि चिनिने गरिएको छ । बन्दिपुरको पर्यटन प्रवर्ध्दन गर्न स्थानीय सरकारले के कस्ता कामहरु गरिरहेको छ (?) भन्ने विषयमा धेरैको चासो छ । विभिन्न महत्वका पर्यटकीय विशेषता भएका विषयहरुलाई विश्वसामू चिनाउने पहिलो पहल स्थानीय सरकारले नै गर्नुपर्ने हुन्छ ।

देशकै मध्ये भागमा पर्ने बन्दिपुर गाउँपालिकाका अधिकांश मानिसहरु कृषि पेसामा आवद्ध छन् । गाउँपालिकाले यो आर्थिक वर्षमा पर्यटनको साथै कृषिलाई पनि उतिकै महत्व दिएर बजेट ल्याएको छ । कृषि र पर्यटनको क्षेत्रमा गाउँपालिकाले बनाएको योजनाहरुलगायत समग्र विषयमा अनलाइनपानाकर्मी रामनाथ कुँवरले बन्दिपुरका अध्यक्ष सुरेन्द्रबहादुर थापासँग कुराकानी गरेका छन् । प्रस्तुत छ, कुराकानीको सम्पादित अंशः

बन्दिपुरमा तपाईँ निर्वाचित भएर आएपछि प्रारम्भमा के कस्ता योजनाहरुलाई अगाडि सार्नु भएको छ ?

हामी निर्वाचित भएर बन्दिपुरमा आएपछि यस अगाडिको कार्यकालमा करिब १५ करोड विनियोजन भएर टेन्डर भएको तर ठेकेदारहरु तीन वर्षदेखि बेपत्ता भएर काम नगरेका निर्माण व्यवसायीहरुलाई हरसम्भव प्रयास गरेर काममा लगाउने कार्य ग¥यौं । जस्तै बाटो पिच गर्ने, पक्की नाली बनाउने, ग्राबेल गर्ने कामहरु अलपत्र थिए । त्यो काम पूरा हुने बितिकै हाम्रो बन्दिपुरको ३० प्रतिशत विकास हुन्छ । अझै पनि ३ जना ठेक्दार उपस्थित भएका छैनन् । उहाँहरुलाई हामीले सम्झौता तोड्ने र कालो सूचिमा राख्ने भनेर सूचना जारी गरेका छौं । यदी नआएमा प्रक्रियागत ढंगले नयाँ टेन्डर खुलाएर त्यो काम गर्छौं । हाम्रो पहिलो प्रथामिकता ती अपूरा काम सक्ने नै हो ।

हामीले विशेषगरी कृषि र पर्यटनलाई विकास गरेर बन्दिपुरको आर्थिक स्थिति सुधार गर्ने योजना बनाएका छौं । पालिकाको ६ वटै वडामा कृषि र पर्यटनलाई महत्व दिएर बजेट विनियोजन गरेका छौं । वडा नम्बर ६ को दरमपानीमा पशु स्वास्थ्य कार्यलय स्थापना गरियो । हामीले पशुपालनमा पकेट क्षेत्र, तरकारी उत्पादनमा, दुध उत्पादनमा पकेट क्षेत्र निर्धारण गरेर गरिरहेका छौं । कृषक समूह गठन गरेर हामी अगाडि बढ्दै छौं । किसानहरुलाई तालिम दिने कार्यक्रम हामी छिटै गर्दै छौं । यसरी कृषि क्षेत्रको विकासबाट जनताको आर्थिक स्थिति मजबुत बनाउनमा लागेका छौं ।

त्यसैगरी गण्डकी प्रदेशकै दोस्रो पर्यटकीय स्थल बन्दिपुरलाई जोगाई राख्न र अझै व्यवस्थित बनाउन हाम्रो ध्यान छ । बन्दिपुरमा नयाँ घर बनाउँदा परम्परागत शैलीमा बनाउनु पर्ने भनेर हामीले निर्णय गरेका छौं । कोरोना महामारीले गर्दा धेरै नै खस्किएको पर्यटन प्रवर्ध्दन कार्यक्रमहरु छन् । बन्दिपुर घुम्न जाउँ भन्ने कार्यक्रम हामी पोखरामा छिट्टै गर्दै छौं । किनभने पोखरामा आउने पर्यटकहरु एक दिन एक रात मात्रै भए पनि बन्दिपुरमा आउनुभयो भने यहाँको पर्यटन क्षेत्र धेरै माथि उकासिन्छ । बन्दिपुर देशकै मध्ये भागमा पर्ने पृथ्वी राजमार्गबाट ८ किलोमिटर मात्रै पक्की रोडबाट उक्लिँदा लेकमा गएर बसेको महसुस हुन्छ । सधैँ जाडो हुने भएकोले यहाँ पर्यटनको एकदमै सम्भावाना छ । त्यसो हुनाले दिगो विकास हुने किसिमका योजनाहरु हामी अगाडि बढाउदै छौं । यसरी कृषि र पर्यटन मार्फत हामी बन्दिपुरवासीको आर्थिक स्थिति सुधार गर्दै जाने छौं ।

पर्यटन र कृषि क्षेत्रको योजनाका बारेमा बताउनुभयो । गाउँपालिकाले शिक्षा, स्वास्थ्य, खानेपानी लगायतका क्षेत्रमा कस्ता योजनाहरु अगाडि सारेको छ ?

म शिक्षा क्षेत्रबाट नै राजनीतिमा आएको हो । मैले विगत २५ वर्ष शिक्षण पेशामा विताएको छु । शिक्षा क्षेत्रको समस्याहरु मलाई जानकारी छ । हामीले पालिकामा भएका ३१ वटै विद्यालयहरुका लागि बजेट विनियोजन गरेका छौं । अब बन्दिपुरको शिक्षालाई सुधार्न हामीले प्रत्येक विद्यालयको प्रत्येक कक्षाको सिकाइ उपलब्धिको आधारमा शिक्षकहरुलाई पुरस्कृत र दण्डित गर्ने योजना बनाएका छौं । हामीले मेरै अध्यक्षतामा यस्तो बलियो शिक्षा अनुगमन समिति बनाएका छौं । हामीले अनुगमन गरिरहेका छौं । त्यसरी अनुगमन गर्दा कहीँ कतै कमजोरी देखियो भने हामी त्यतिबेलै कारबाही गर्छौं । त्यसैगरी प्रोत्साहन पनि गर्छौं । यसरी अगाडि बढ्दा शिक्षामा सुधार आउँछ भन्ने हाम्रो विश्वास छ ।

त्यसैगरी स्वास्थ्यको कुरा गर्दा बन्दिपुर जिल्ला अस्पताल पनि भएको पालिका हो । हामीले स्वास्थ्य कार्यलय मार्फत भवनहरु अगाडि बढाउने कार्य अगाडि बढाएका छौं । निजी क्षेत्र मार्फत पनि हामीले रकम संकलन गरेर भवन निर्माणको काम अगाडि बढाएका छौं । जिल्ला अस्पतालमा डाक्टरहरु ३ जना मात्रै भएकोले एक जना थपेर ४ जना बनाएका छौं । त्यसैगरी आँखा सेवा केन्द्र स्थापना गरेर आँखाको जाँच गर्न सुरु गरेका छौं । दाँतको पनि विगत ३ वर्ष देखि थन्किएर बसेको सामग्री सञ्चलनमा ल्याएर एउटा सेवा केन्द्र स्थापना गर्ने कार्य अगाडि बढाएका छौं । स्वास्थ्यको विषयमा हामी पालिकामा हरेक हप्ता बैठक बस्छौं । छिट्टै डुम्मरेमा एउटा क्लिनिक राख्ने योजना छ । जनताहरुलाई निजी अस्पताल महंगो हुने हुनाले हामीले सरकारी अस्पताललाई व्यवस्थापन गर्दै अगाडि लैजाने योजनामा अगाडि बढेका छौं ।

बन्दिपुरमा खानेपानीको क्षेत्रको कुरा गर्दा म निर्वाचित हुनभन्दा अगाडि नै हामीले एक घर एक धाराको योजना सुरु गरेका छौं । ती करिब करिब सम्पन्न हुने चरणमा छन् । अरु योजनाहरु पनि हामीले राखेका छौं । बन्दिपुर छिट्टै एक घर एक धारा कार्यक्रम सफल हुँदै छ । त्यसैगरी मस्र्याङ्दीबाट लिफ्टिङ गर्ने योजना छ । २१ करोड बजेट विनियोजन भएर अगाडि बढेको छ । हाम्रो बजेटले नपुग्ने खानेपानीका आयोजनाहरु हामीले संघसँग समन्वय गरेर अगाडि बढाएका छौं । पालिकाको ६ वटै वडामा बाह्रै महिना चल्नेगरी बाटो बनाउने छौं ।

गण्डकी प्रदेशकै दोस्रो पर्यटकीय गन्तव्य भन्नुभयो ? पर्यटक बन्दिपुर नै किन आउने ?

मैले अगाडि पनि भनेँ, यो देशकै मध्ये भागमा पर्ने, यातायातको राम्रो सुविधा भएको पर्यटकीय क्षेत्र हो । ८ किलोमिटर हाइवेबाट माथि उक्लिएपछि लेकमा पुगेको अनुभव हुन्छ । ठिक्कको हावापानी छ । भक्तपुरे शैलीको एकदमै पुरानो बजार छ । बजार क्षेत्रमा गाडी जान दिइएको छैन । बजारमा पूरै ढुङ्गा छपनी भएको छ । पुराना शैलीका सफा र राम्रा घरहरु छन् । सुन्दर र खुल्ला वातावरण छ । त्यो प्रदुषण र कोलाहल नभएको बजार हो ।

त्यसैगरी यहाँको टुँडिखेलबाट एकदमै नजिक अपि, सैपाल र गणेश हिमालसम्मका हिमालहरु देख्न सकिन्छ । तलपट्टी समथर मरस्याङ्दी उपत्यका देखिन्छ । एसियाकै ठूलो सिद्ध गुफा यहीँ छ । पाचन्दर गुफा पनि छ । चीनको ग्रेटवालको झल्को दिने वाल बनाउँदै छौं । राजा मुकुन्दसेनको हिउँदे दरबारको भग्नावशेष छ । त्यसैगरी बौद्ध गुम्बा, तीन धारा, महादेव मन्दिर, राधाकृष्ण मन्दिर, खड्गामाई मन्दिर छन् ।

यी सबै ऐतिहासिक पर्यटकीय स्थलहरुको हामी प्रव्र्ध्दन गर्दै छौं । बन्दिपुरमा ११ वटा होमस्टे छ । त्यस्तै यहाँ रामकोट भन्ने गाउँ छ । त्यो लमजुङको घलेगाउँ जस्तै छ । विभिन्न कला संस्कृतिले भरिएका गाउँहरु छन् । थानीमाईको मन्दिर रहेको डाँडा छ । यी सबै कारणले बन्दिपुरमा हेर्न र रमाइलो गर्न हुने धेरै कुराहरु छन् । विद्यालय, गाउँपालिका, नगरपालिका, सहकारी, संघ संस्थाहरु अत्याधिक मात्रामा आउनुहुन्छ । मुल बजारमा विदेशी पर्यटकहरु धेरै बस्ने हुनाले काठमाडौंको ठमेल जस्तै महसुस हुन्छ । हामीले यहाँ भारतीय पर्यटकहरु भने भित्राउन सकेका छैनौं । यसमा हामी भारतीय पर्यटकहरुलाई पनि बन्दिपुरमा भित्राउन विभिन्न कार्यक्रमहरु अगाडि बढाउने छौं ।

यो बर्खामा बन्दिपुरले के कस्ता समस्या झेल्न पर्‍यो ? अहिलेको अवस्था कस्तो छ ?

गत वर्षको जस्तो धेरै समस्या यो वर्ष भएन । गत वर्ष बन्दिपुरमा पहिरोले दुई जनाको ज्यान गएको थियो । यो वर्ष त्यस्तो अप्रिय घटना भएन । तर पुल र बाटोहरु भत्किने र बगाउने धेरै भए । हामीसँग एउटा डोजर र एउटा ट्याक्टर थिए । हामीले विपद् व्यवस्थापन कोषबाट बाटो बन्द भएका ठाउँमा तत्कालै ती साधन पठाएर बाटो खोल्ने काम गरियो । हाल कतै पनि बाटो अवरुद्ध छैन । तर पहिरो गएको खण्डमा हामी तत्कालै पहिरो हटाउन ती साधन खटाउँछौं । अब वर्षा कम भएपछि ग्रामीण भागका सबै बाटोहरु एक पटक सफा गर्छौं ।

पालिकाको बजेटले मात्रै धेरै कार्यक्रमहरु समेट्न सकिँदैन । बन्दिपुरको विकासका लागि संघ र प्रदेशसँग कसरी समन्वय गर्ने योजना छ ?

मैले निर्वाचन जित्नुभन्दा अगाडि पनि यहाँको सामाजिक क्षेत्रमा सक्रिय नै थिएँ । त्यतिबेला पनि हामीले सडक र खानेपानीको क्षेत्रमा राम्रै सफलता प्राप्त गरेका थियौं । निर्वाचन जितेको केही समयपछि पालिकाको बजेटले मात्रै विकास गर्न कठिन हुन्छ भनेर संघ र प्रदेशसँग समन्वय गर्न एउटा टिम बनायौं । हामीले सहरी विकास मत्रालय, पर्यटन विकास बोर्ड, पर्यटन मन्त्रालय, स्वास्थ्य मन्त्रालय, पूर्वाधार मन्त्रालयमा हामी आवश्यक कागजातसहित गयौं । हामीले सबैमा निवेदन गर्‍यौं ।

त्यसपछि सहरी विकास मन्त्रालयबाट बन्दिपुरको विकासका लागि बजेट विनियोजन भइसकेको छ । त्यसले १, ४ र ६ मा बाटो कालोपत्रे गर्ने योजना पारेको हो । हामीले ढुङ्गा छाप्ने काम हामीले ६० सालमा नै गरेको हो । बाँकी भागमा ढुङ्गा छपनी गर्न पर्यटन बोर्डले बजेट छुटाएको छ । स्वास्थ्यका लागि पनि स्वास्थ्य मन्त्रालयबाट बजेट विनियोजन भएको छ । डाइलासिस सेवा सुरु हुने भएको छ । टिभी रोग परीक्षणको लागि पनि स्वास्थ्य मन्त्रालयले हामीलाई सहयोग गर्ने भएको छ ।

यसरी नै प्रदेशमा पनि पालिका उपाध्यक्षको नेतृत्वमा एक टिमले विभिन्न योजनाहरुका लागि समन्वय गर्ने गरी छलफल भइरहेको छ । तर पनि यस वर्ष हामीले माग गर्न अलि ढिला गरेको भन्ने आएको छ । आगामी वर्ष हामी यो कुरामा समयमै ध्यान दिने छौं ।

अन्त्यमा पालिकावासीलाई केही भन्नु छ ?

बन्दिपुरका २५ हजार जनताले मलाई निर्वाचित गराउनुभएको हो । अब मैले बन्दिपुरे जनताको अभिभावकत्व निभाउन सक्छु भन्ने लागेको छ । हामी एकले अर्कालाई सहयोग गरेर अगाडि बढ्नु पर्छ । हामीले यो पाँच वर्षमा बन्दिपुरवासीको जीवनस्तर उकास्नु छ ।

त्यसकारणले हामीलाई सबै बन्दिपुरे जनताको साथ समर्थन प्राप्त हुन्छ भन्नेमा विश्वस्त छौं । हामी निस्वार्थ भावले यहाँको विकासमा लाग्ने छौं । केही कमिकमजोरी हुँदा भन्नु होला । सबैको सुझावको सम्मान गर्ने छौं । तपाईँको यो अनलाइनपाना मार्फत म सबै बन्दिपुरवासीलाई अब एक भएर विकासका काममा लाग्न आग्रह गर्छु ।

प्रकाशित मिति : १६ भाद्र २०७९, बिहीबार १६:२८   :  बजे

156
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।