Logo

खेलकुद

नेपालको विजयी सुरुआत, भुटान ४-० गाेलअन्तरले पराजित



काठमाडौं । नेपालले घरेलु मैदानमा मंगलबारदेखि सुरु भएको छैटौं संस्करणको महिला साफ च्याम्पियनसिप फुटबलमा विजयी सुरुआत गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको उद्घाटन खेलमा भुटानलाई ४–० गोल अन्तरले हराउँदै नेपालले सुखद सुरुआत गरेको हो ।

नेपाललाई जित दिलाउन सावित्रा भण्डारी र अनिता बस्नेतले दुई दुई गोल गरिन् । पहिलो हाफ भारी वर्षाले प्रभावित गरेको थियो । तर, खेलको १२ औं मिनेटमा अमिषा कार्कीको पासमा सावित्राले गोल गर्दै नेपाललाई अग्रता दिलाएकी थिइन् ।

त्यसअघि ११ औं मिनेटमा हिरा कुमारी भुजेलको पेनाल्टी क्षेत्र भन्दा बाहिरबाट प्रहार गरेको बल पोलमा लागेर फर्किएको थियो । खेलको ६७ औं मिनेटमा सावित्राले व्यक्तिगत दोस्रो गोल गर्दै नेपाललाई २–० को अग्रता दिलाईन् ।

खेलको ७२ औं मिनेटमा अनिताले गोल गर्दै नेपाललाई ३-० को अग्रता दिलाइन् । त्यसपछि खेलको ८४ औं मिनेटमा अनिताले व्यक्तिगत दोस्रो गोल गर्दै नेपाललाई ४–० गोलको जित दिलाइन् । भुटान विरुद्धको खेलमा नेपालका तीन खेलाडीले डेब्यु गरे । दिपा शाही, अमिषा कार्की र समीक्षा घिमिरेले राष्ट्रिय टोलीमा डेब्यु गरेका हुन् ।

यस जितसँगै समूह ‘बी’ को नेपालले खेलमै ३ अंक जोडेको छ । भुटानले भने हारबाट प्रतियोगिताको सुरुआत गरेको छ । अब नेपालले दोस्रो तथा समूह चरणको अन्तिम खेलमा भदौ २८ गते श्रीलंकासँग खेल्नेछ । प्रतियोगितामा आयोजक नेपाल, भारत, श्रीलंका, भुटान, बंगलादेश, पाकिस्तान र माल्दिभ्सको सहभागिता रहेको छ ।

प्रकाशित मिति : २१ भाद्र २०७९, मंगलवार १९:३३   :  बजे

36
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।