काठमाडौं । बलात्कार आरोप लागेका नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेले आफू निर्दोष रहेको भन्दै नेपाल क्रिकेट संघ (क्यान)सँग सहयोग मागेका छन् । क्यारेबियन लिग खेल्न हाल वेस्ट इन्डिजमा रहेका उनले आफू निर्दोष रहेको र कानुनी उपचारमा सहजीकरण गर्न क्यानसँग अनुरोध गरेको क्यानका कार्यबाहक महासचिव प्रशान्तविक्रम मल्लले जानकारी दिए ।
म्याच सकिएपछि नेपाल फर्किने भन्दै लामिछानेले कानुनी सहयोगका लागि क्यानसँग अनुरोध गरेका हुन् । एक १७ वर्षीया किशोरीले आफूमाथि लामिछानेले पटक पटक बलात्कार गरेको भन्दै मंगलबार प्रहरी वृत्त गौशालामा जाहेरी दिएकी छन् ।
सन्दीपले ती किशोरीलाई भदौ ५ गते काठमाडौंबाट नगरकोट पुर्याएको र फेरि फर्काएर काठमाडौं ल्याई एक होटलमा राखेर बलात्कार गरेको जाहेरीमा उल्लेख छ । जाहेरी परेसँगै प्रहरीले अनुसन्धान प्रक्रिया अघि बढाएको छ। सन्दीप ती किशोरी पुगेको भनिएका नगरकोट र नुवाकोटका होटलका सिसिटिभी फुटेज प्रहरीले संकलन गरिसकेको छ भने फुटेजमा उनीहरु त्यहाँ पुगेका पुष्टि भइसकेको छ ।
भदौ ६ मा केन्यासँगको सिरिजका लागि उडेका सन्दीप केन्याबाटै सीपीएल खेल्न वेस्टइन्डिज पुगेका छन् । उनले सीपीएल सकिनसाथ नेपाल फर्कने क्यानसँग बताएका छन् । ३१ अगष्टबाट शुरू भएको सीपीएल १ अक्टोबरसम्म चल्नेछ । जमैका तल्लावाजमा अनुबन्धित सन्दीपले अहिलेसम्म टिमले खेलेका ३ वटा खेलमा प्लेईङ्ग ११ मा स्थान पाएका छैनन् ।




















प्रतिक्रिया