काठमाडौं । सत्ता गठबन्धनले राष्ट्रपति विद्यादेवी भण्डारीको कदमविरुद्ध अदालत जाने तयारी गरेको छ । त्यसका लागि अधिवक्ताहरूसँग परामर्श भइरहेको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जानकारी दिए । उनकै निवास खुमलटारमा आयोजित एक पार्टी प्रवेश कार्यक्रममा बोल्दै प्रचण्डले संविधानको अन्तिम व्याख्या गर्ने अधिकार संविधानले नै सर्वोच्च अदालतलाई दिएकाले अधिवक्ताहरूसँग परामर्श भइरहेको बताए ।
‘हिजो राष्ट्रपतिले प्रमाणीकरण गर्नुपर्ने नागरिकता विधेयक गर्नैपर्ने थियो । संविधानको व्यवस्थाअनुसार राष्ट्रपतिलाई रोक्ने अधिकार र छुट छैन । जसरी पनि प्रमाणीकरण गर्नै पर्ने थियो’ प्रचण्डले भने, ‘उहाँ (राष्ट्रपति) ले जर्बजस्ती संविधान मिचेर प्रमाणित नगर्ने काम गर्नुभयो ।’
राष्ट्रपतिको कदम सिंगो परिवर्तनविरुद्व भएको प्रचण्डको ठहर छ । ‘राष्ट्रपतिको कदम संविधानका विरुद्ध छ, लोकतन्त्रका विरुद्ध छ, गणतन्त्रका विरुद्ध छ र समावेशी समानुपातिक विरुद्ध छ’ प्रचण्डले भने, ‘यो देशका उत्पीडित क्षेत्र वर्ग र समुदायको हक अधिकारका विरुद्ध छ ।’
राष्ट्रपतिको कदमविरुद्ध आजैदेखि युवा विद्यार्थीहरु सडकमा आन्दोलित भइसकेकाले अब संघर्ष नरोकिने प्रचण्डको चेतावनी छ । संघीय संदका दुवै सदनबाट पुनर्विचार गरेर गत भदौ २० गते पठाइएको नागरिकता विधेयक राष्ट्रपतिले संवैधानिक व्यवस्थाअनुसार प्रमाणीकरण नगरेपछि जनमत विभाजित छ ।




















प्रतिक्रिया