Logo

प्रमुख समाचार

पालक र संरक्षकबाटै जानीबुझी संविधान खुलेआम मिचिनु सामान्य होइन : प्रचण्ड



काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान उल्ट्याउन पटकपटक जमर्को भइरहेको बताएका छन् । पार्टीनिकट किसान महासंघको भेलालाई सम्बोधन गर्दै प्रचण्डले अहिले पनि परिवर्न पक्षधर र विरोधीबीचमा पेचिलो संघर्ष चलिरहेको उनको भनाइ छ ।

पछिल्लोपटक टीआरसी विधेयक असफल पार्ने कसरत र नागरिकता विधेयक प्रमाणीकरण नगर्नुले त्यो देखाएको उनले दाबी गरे । ‘कुरा धेरै नै गहिरो छ । गत सालदेखिको प्रतिगमको षड्यन्त्र नयाँनयाँ रूपमा फेरि अगाडि ल्याउने जमर्को भइरहेको छ । हामीले एकता गुमायौं भने कुनै दिनमा प्रतिगमन हुने अझै खतरा छ’, उनले भने, ‘संविधानको पालक र संरक्षकबाट जानीबुझी संविधान खुलेआम मिच्ने काम भएको छ । यो सामान्य होइन । हजारौंको बलिदानबाट प्राप्त उपलब्धि खोस्ने र अपहरणको षड्यन्त्र हो ।’

पूर्व प्रधानमन्त्री प्रचण्डले यसलाई रोक्न अरु कसैले नसक्ने भन्दै गत साल लाखौंलाई सडकमा ल्याएपछि मात्र त्यो परास्त भएको बताए । अहिले पनि किसान, सुकुम्बासी, जनतालाई अगाडि बढाएर शिक्षित गर्दै आन्दोलित गरेर त्यसलाई परास्त गर्न सकिने उनले बताए ।

प्रचण्डले प्रतिगमन शक्तिहरू सबै एक भएर लागिरहेको दाबी पनि गरे । आफूमाथि निरन्तर प्रहार भइरहेको भन्दै उनले भने, ‘माओवादीविरुद्ध सामाजिक सञ्जालमा भ्रम छर्ने काम प्रष्ट देखिरहेको छ । एकथरि मान्छे बसेर रातदिन धुप हालिरहेका छन् प्रचण्ड सकियोस् भनेर ।’ जसले परिवर्तनको नेतृत्व गर्‍यो त्यसैमाथि किन प्रहार भइरहेको छ (?) भन्दै उनले प्रश्न पनि गरे ।

उनले ठूलो सपना बोकेर कम्युनिष्ट पार्टीलाई एकताबद्ध गरेर लगेपनि त्यसलाई बचाउन नसकिएको गुनासो गरे ।

प्रकाशित मिति : ७ आश्विन २०७९, शुक्रबार १५:४८   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।