Logo

खेलकुद

यूएईविरुद्धको पहिलो टी-२० मा बंगलादेशको कठिन जित



काठमाडौं । घरेलु टोली यूएईविरुद्धको अन्तर्राष्ट्रिय टी–२० सिरिजअन्तर्गत पहिलो खेलमा बंगलादेश विजयी भएको छ । ऊ गएरातिको खेलमा सात रनले विजयी भएको हो ।

१ सय ५९ रनको लक्ष्य पछ्याएको यूएईले १९.४ ओभरमा सबै विकेट गुमाउँदै १ सय ५१ रन मात्र बनाउन सक्यो । उसका लागि चिराग सुरीले सर्वाधिक ३९ रनको योगदान दिए । आयन अफ्जल खानले २५,आर्यन लाक्राले १९, वृत्य अरविन्दले १६, मोहम्मद वासिमले १५, कार्तिक मेइयाप्पनले १२ तथा जुनैद सिद्दिकीले ११ रन जोडे । बंगलादेशका लागि सोरिफुल इस्लाम र मेहदी हसनले तीन/तीन तथा मुस्ताफिजुर रहमानले दुई विकेट लिए । दुई विकेट रन आउटको रूपमा प्राप्त भयो ।

त्यसअघि दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको बंगलादेशले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै १५८ रन बनायो । उसका लागि अफिफ हुसेनले ५५ बलमा सात चौका र तीन छक्कासहित अविजित ७७ रनको पारी खेले । कप्तान नुरुल हसनले अविजित ३५, लिटन दासले १३ र मेहदी हसनले १२ रनको योगदान दिए । यूएईका लागि कार्तिक मेइयाप्पनले तीन तथा सबिर अली र आयन अफ्जल खानले एक/एक विकेट हात पारे ।

यो जितसँगै बंगलादेशले दुई खेलको सिरिजमा १–० को अग्रता लिएको छ । बंगलादेश र यूएईबीचको दोस्रो तथा अन्तिम खेल भोलि हुनेछ । 

प्रकाशित मिति : १० आश्विन २०७९, सोमबार ०९:१३   :  बजे

42
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।