Logo

प्रमुख समाचार

काठमाडौं–१ बाट प्रतिनिधिसभा चुनाव लड्ने रवीन्द्र मिश्रको घोषणा



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले काठमाडौं क्षेत्र नम्बर–१ बाट आसन्न प्रतिनिधिसभा चुनाव लड्ने घोषणा गरेका छन् । शुक्रबार एक कार्यक्रमका बीच उनले उम्मेदवारी घोषणा गरेका हुन् ।

‘काठमाडौं १ का साथीहरुलाई म सुनिश्चित गराउन चाहन्छु, कि तपाईंहरुले यसपटक मलाई तपाईंहरुकै क्षेत्रमा रहेको संसद् भवनमा पठाउनुभयो भने आजसम्म तपाईंहरुकै क्षेत्र नम्बर १ बाट गर्व गर्न सक्नेमध्येको सबैभन्दा सशक्त सांसदको रुपमा तपाईंहरुको आवाज संसद्‌मा बुलन्द गर्नेछु’, मिश्रले भने ।

मिश्रले काठमाडौंलाई ‘धनीहरुको सुकुम्बासी बस्ती’ भएको बताए । काठमाडौं–१ बाट १५ वर्षदेखि निर्वाचित सांसदले केही नगरेको उनको भनाइ थियो । ‘यहाँ जेजे हुनुपर्थ्यो । त्यो केही पनि भएको छैन । जेजे नहुनुपर्थ्यो, त्यहीत्यही भइरहेको छ’, उनले भने।

२०७४ को प्रतिनिधिसभा निर्वाचनमा पनि मिश्र यही क्षेत्रबाट उम्मेदवार भएका थिए । तर, विवेकशील साझा पार्टीबाट उम्मेदवार भएका मिश्र कांग्रेस उम्मेदवार प्रकाशमान सिंहसँग पराजित भएका थिए ।

वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा पार्टी पराजित भएपछि उनले विवेकशी साझा पार्टीको अध्यक्षबाट राजीनामा दिएका थिए । त्यसपछि राजसंस्था पुनःस्थापनाको अजेन्डालाई प्राथमिकताका साथ उठाइरहेका छन् । उनी बुधबार मात्रै राप्रपा प्रवेश गरेका हुन् ।

प्रकाशित मिति : १४ आश्विन २०७९, शुक्रबार १४:१५   :  बजे

24
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।