काठमाडौं । पूर्वप्रधानमन्त्री एवम् नेपाल समाजवादी पार्टी (नेसपा)का अध्यक्ष डा. बाबुराम भट्टराईले आगामी निर्वाचन नलड्ने घोषणा गरेका छन् । उनले आज (सोमबार) समाजिक संजालमार्फत आफू आसन्न प्रतिनिधिसभा चुनाव नलड्ने जानकारी गराएका हुन् ।
‘आगामी २०७९ मंसिर ४ को प्रतिनिधिसभा निर्वाचनमा म उम्मेदवार नबन्ने यहाँहरू सबैलाई विनम्र जानकारी गराउन चाहन्छु’, भट्टराईले सामाजिक सन्जालमा लेखेका छन् । विगतका निर्वाचनमा अत्यधिक मतले विजयी गराएर सेवा गर्ने अवसर दिएका भन्दै गोरखाली जनतालाई आभार प्रकट पनि गरेका छन् । ‘२०६४,२०७० र २०७४ को संविधानसभा र प्रतिनिधिसभा निर्वाचनमा अत्यधिक मतले विजयी गराएर तपाईंहरूको सेवा गर्ने अवसर दिनुभएकोमा सम्पूर्ण गोरखाली बुबाआमा,दिदीबहिनी,दाज्यूभाइहरूमा अन्तःहृदयैदेखि आभार ब्यक्त गर्दछु।’
आफ्नो कार्यकालमा गोरखाको दूरगामी विकास र समृद्धिका लागि आधारभूत भौतिक तथा सामाजिक पूर्वाधारहरू बनेका र केही शुरू भएका आयोजना पूरा हुन बॉकी रहेका उनले उल्लेख गरेका छन् । बाँकी रहेका आयोजना पूरा गर्न र ती पूर्वाधारको जगमा अब उत्पादन र रोजगारमुखी योजना र कार्यक्रम ल्याएर ऐतिहासिक गोरखालाई देशकै नमूना विकासको केन्द्र बनाउन आफू संसदमा नरहे पनि निरन्तर सक्रिय योगदान गरिरहने भट्टराई प्रतिबद्धता पनि जनाएका छन् ।




















प्रतिक्रिया