Logo

राजनीति

आदर्शवादी एमाले नेता दाहालले सर्लाही–३ मा टिकट पाउने सम्भावना कति ?



काठमाडौं । आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि सर्लाही निर्वाचन क्षेत्र नं. ३ बाट नेकपा एमालेका चार जनाको नाम सिफारिस भएको छ । क्षेत्रीय कमिटीले कृष्ण दाहाल भनेर चिनिने अनुभवी वामपन्थी नेता भोजराज दाहालसहित चार आकांक्षीको नाम सिफारिस गरेको हो । प्रतिनिधिसभा प्रत्यक्षतर्फ सर्लाही–३ बाट उनको सशक्त दाबी छ । चार दशकभन्दा लामो समय कम्युनिष्ट राजनीतिको अनुभव संगालिसकेका नेता दाहाल एमालेका केन्द्रीय सल्लाहकार समेत हुन् ।

नेता दाहालले २०६४ सालको संविधानसभा सदस्य निर्वाचनममा प्रत्यक्षतर्फ नेकपा मालेबाट सिन्धुली क्षेत्र नं. ३ बाट उम्मेदवार भइ सम्मानजनक मत प्राप्त गरेका थिए । नाम सिफारिस भए पनि चार जनामा कसले टिकट पाउने भन्ने टुंगो लागिसकेको छैन । एमालेले दसैँपछि मात्रै टिकट वितरण गर्ने जनाइसकेको छ । तर पार्टीले आफ्नो ज्ञान, अनुभव र योगदानको मूल्यांकन गरेर आफूलाई नै टिकट दिने नेता दाहाल विश्वस्त छन् ।

‘यदी मलाई पार्टीले टिकट दिएमा सर्लाही– ३ को चुनाव जितेरै छाड्छु’, नेता दाहाल भन्छन्, ‘चुनाव जितेर जनताको सुख–दुःखमा एकाकार भइ श्रद्धेय अध्यक्ष केपी शर्मा ओलीको ‘समृद्धि नेपाल, सुखी नेपाली’को आकांक्षलाई पूरा गर्ने सपना छ ।’

त्यसका लागि सिँचाइ व्यवस्था गरेर कृषिको उत्पादन बढाउने, बजारीकरणका व्यवस्थापन गर्ने, शीतभण्डारको व्यवस्था गर्ने, पर्यावरणलाई सन्तुलित बनाउने, नदीजन्य पदार्थको अवधै बिक्रीवितरण र उत्खनन् रोक्ने, सामाजिक न्याय र समाजिक सदभाव कामय राख्ने, मदिरा एवं लागूपदार्थको नियन्त्रण गरी गुण्डागर्दीको अन्त्य गर्ने, वास्तविक नेपालीलाई नागरिकता दिई विदेशीले लिएको नागरिकता खारेज गर्ने, बाटोघाटो र पुल, मठमन्दिर, गुम्बा, मदरसा र धर्मशालाको निर्माण गर्नेतर्फ आफ्नो सम्पूर्ण ध्यान केन्द्रित गर्ने नेता दाहलको प्रतिबद्धता छ ।

नेता दाहालले आफू निर्वाचित भएपछि वृद्धवृद्धा, बालबालिका, अपांग, एकल महिला एवं सबै असहायका वर्गका सेवामा समर्पित हुने हुने बताका छन् । उनले सबै जनतालाई सुखी एवं खुसी देख्ने चाहेको उल्लेख गर्दै आफ्नो लक्ष्य, दृष्टिकोण एवं उद्देश्य नै जनताको सेवा मात्र भएको बताए ।

को हुन् कृष्ण दाहाल भनेर चिनिने नेता भोजराज दाहाल ?

कृष्ण दाहाल भनेर चिनिने नेता भोजराज दाहालले २०३७ साल भदौ २१ गते ऋषि देवकोटा ‘आजाद’बाट कम्युनिष्ट पार्टीको सदस्यता प्राप्त गरेका अनुभवि नेता हुन् । ‘आजाद’ले नै उनलाई ‘कृष्ण दाहाल’ भनि सम्बोधन गरेपछि पार्टीपंक्तीमा उनी यही नामले बढी चिनिन्छन् । उनी हाल नेकपा एमालेका केन्द्रीय सल्लाहकार छन् । उनले कम्युनिष्ट पार्टीको सदस्यता लिएको ४२ वर्ष पूरा भइसकेको छ ।

२०३७ साल फागुण १२ गते तत्कालीन पञ्चायती सरकारबाट ‘आजाद’ मारिएपछि उनले नेतृत्व गरेका समूह तत्कालीन मालेमा समाहित हुँदै आजको एमाले हुँदासम्म नेता दाहाल निरन्तर पार्टीमा सक्रिय छन् । नेता दाहाल २०४७ सालमा नेकपा मार्क्सवादी र नेकपा मालेबीचको एकतापछि बनेको नेकपा एमालेको जिल्ला कमिटी सदस्य, २०५४ सालमा नेकपा एमाले विभाजनपछि बनेको नेकपा मालेको जिल्ला कमिटी सदस्य र २०५८ सालमा पुर्नगठित मालेको केन्द्रीय सदस्य हुँदै पोलिटब्यूरो सदस्य समेत भएका थिए । नेता दाहालले २०६४ सालको संविधानसभा सदस्य निर्वाचनममा प्रत्यक्षतर्फ नेकपा मालेबाट सिन्धुली जिल्ला निर्वाचन क्षेत्र नं. ३ बाट उम्मेदवार भइ सम्मानजनक मत प्राप्त गरेका थिए ।

२०६९ सालमा नेकपा मालेको पोलिटब्यूरो सदस्य बनेका उनी हाल एमालेका केन्द्रीय सल्लाहकार छन् । उनी राजनीतिक वृतमा इमान, निष्ठा एवं आदर्शका पर्यायका रुपमा चिनिन्छन् । लामो सयम राजनीतिमा सक्रिय रहेता पनि नेता दाहाल अहिलेसम्म कुनै पनि राजकीय पदको लालच नगर्ने व्यक्ति हुन् ।

पर्टीमा दाहालको योगदान समकालीन नेताहरुमध्येकै धेरै भए पनि सर्लाहीमा नयाँ मान्छे भने आफूलाई भनिएको प्रति उनी दुखेसो पोख्छन् । आफ्नो पूरानो राजनीतिक कर्म थलो सिन्धुली र त्यहाँका जनलाई सम्झँदै नेता दाहाल भन्छन्, ‘मुलुक संघीयतामा जानु अघि हामी एउटै अञ्चलमा आबद्ध थियौं, आज मात्र प्रदेश फरक परेको हो । सिन्धुलीका जनता र साथीहरुको सद्भाव रहँदारहँदै पनि सर्लाही पुग्दा गल्ती भएको हो कि भन्ने लागेको छ । तर सर्लाही–३ का जनता पनि मसँग सकारात्मक छन् । त्यसैले टिकट पाएमा चुनाव जित्ने कुरामा म ढुक्क छु ।’

निर्वाचनमा भाग लिएर जितेपछि जनताकै लागि काम गरेर जनतामाझ अझ लोकप्रिय बन्ने नेता दाहालको प्रतिबद्धता छ । ‘निर्वाचनमा भाग लिइएन भने जनताले चिन्ने मौका पनि मिल्दैन, पार्टी कार्यकर्तासँग मात्रै चिनजान रहने हुन्छ । समकालीन नेताहरु पनि एक पटक चुनाव गएपछि मात्र परिचित भएका हुन्’, नेता दाहाल भन्छन्, ‘चुनाव जितेपछि जनताकै लागि काम गरेर सबैसामू चिनिुपर्ने छ ।’

प्रकाशित मिति : १७ आश्विन २०७९, सोमबार १२:५०   :  बजे

99
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।