काठमाडौं । सिट बाँडफाँटको विषयलाई टुंगोमा पुर्याउन पाँच दलीय गठबन्धनको ‘निर्णायक’ बैठक आज (मंगलबार) बस्दै छ । सोमबार बसेको बैठक पनि निष्कर्षविहीन बनेपछि आज पुनः बैठक बस्न लागेको हो ।
राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलका अनुसार आज बिहान सुरुमा आन्तरिक बैठक बसेर ११ बजे फेरि पाँचै दलका शीर्ष नेताहरूबीच बैठक बस्नेछ । सोमबार साँझसम्म सिट बाँडफाँटमा ठोष प्रगति हुन नसकेको उनको भनाइ छ ।
आजको बैठकबाट अन्तिम टुंगो लगाउने तयारी दलहरूको छ । सिट बाँडफाँटका लागि गठबन्धनले ११ सदस्यीय कार्यदल गठन गरेको असोज २० गते दुई महिना पुग्दै छ । गएको साउन २० गते कांग्रेस नेता कृष्णप्रसाद सिटौलाको नेतृत्वका सिट बाँडफाँटका लागि कार्यदल गठन गरिएको थियो ।
त्यतिबेला साउन अन्तिमसम्म सिट बाँडफाँटको टुंगो लगाउने भनिएको थियो । तर, दुई महिना पुगिसक्दा पनि केही दलहरुबीच दोहोरो–तेहरो दाबी पर्दा गठबन्धनमा भागबन्डाको विषय सकसपूर्ण बन्दै गएको हो ।
गठबन्धनभित्रको एउटा घटक जनता समाजवादी पार्टीले गठबन्धन दलहरुसँग असन्तुष्टि जनाउँदै अन्य दलसँगको सहकार्यको ढोका समेत खुला गरिसकेको छ । जसपाले आफूले मागेजति सिट मागेर नेकपा एमालेसँग चुनावी गठबन्धन गर्ने चर्चा पनि राजनीतिक वृतमा छ ।




















प्रतिक्रिया