काठमाडौं । गठबन्धन एक भएर आसन्न चुनावमा हामिने निर्णय गरेका सत्तारुढ दलहरुबीच भागबन्डा नमिलेको एउटा निर्वाचन क्षेत्र सिन्धुपाल्चोक एक पनि हो । २०७४ मा वाम गठबन्धनबाट माओवादी केन्द्रका अग्नि सापकोटाले बाजी मारेका क्षेत्र सिन्धुपाल्चोक–१ यसपटक आफूलाई छाड्नै पर्ने कांग्रेसको अडान छ । अघिल्लो पटक आफूले जितेको क्षेत्र सहजै छाड्न माओवादी पनि तयार छैन ।
सभामुखसमते रहेका माओवादीका सापकोटा अगामी चुनावमा पनि यही क्षेत्रबाट पाँच दलीय गठबन्धनको सर्वसम्मत उम्मेदवार बन्न चाहन्छन् । तर गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा एक नम्बर बनेको कांग्रेस त्यसका लागि तयार छैन । पूर्व मन्त्रीसमेत रहेका कांग्रेस केन्द्रीय सदस्य मोहनबहादुर बस्नेत जसरी पनि सिन्धुपाल्चोक–१ यसपटक कांग्रेसले पाउनु पर्ने अडानमा छन् ।
‘१ नम्बर क्षेत्रमा रहेका ५४ वटा वडामा कांग्रेस एक्लैले ३२ वटा वडा जितेको छ’, अनलाइनपानासँग नेता बस्नेतले भने, ‘माओवादी, एमाले, एकीकृत समाजवादी, राप्रपा सबै गरेर जम्मा २२ वडा जितेका छन्, त्यसमा पनि माओवादीले ५ वटा वडा मात्रै जितेको छ । अनि कसरी माओवादीलाई भोट खन्याउन सकिन्छ ?’
पार्टी नेतृत्व माओवादीलाई सिन्धुपाल्चोक–१ छाड्न तयार भए पनि त्यसमा सहमत नहुने अडामा नेता बस्नेत छन् । एक्लै भए पनि जित्नसक्ने प्रस्ट हुँदाहुँदै माओवादीलाई छाडिए त्यसविरुद्ध आफू उठ्ने नेता बस्नेतको तयारी छ । कांग्रेसको भागमा परे नेता बस्नेत र माओवादीको भागमा परे समापकोटा नै दुवै पार्टीका उम्मेदवार हुन् ।
अघिल्लो पटक बस्नेत उनै सापकोटासँग पराजित भएका थिए । सापकोटा ४० हजार ५ सय ४ मत ल्याएर विजयी भएका थिए भने बस्नेतले १० हजार ७ सय कम अर्थात २९ हजार ७ सय ९८ मत पाएका थिए । यी दुई हेभीवेट नेता सापकोटा र बस्नेतको प्रतिष्ठाको लडाइँले आगामी प्रतिनिधिसभा निर्वाचनमा जिल्लामा गठबन्धन धरमरको स्थितिमा पुग्ने विश्लेषण भइरहेको छ ।




















प्रतिक्रिया