काठमाडौं । अछाम निर्वाचन क्षेत्र नं. १ बाट सर्वसम्मत रुपमा सिफारिस भएका पूर्वउपाध्यक्ष भीम रावललाई नेकपा एमालेले प्रतिनिधिसभाको टिकट नदिने भएको छ । अछाम १ बाट प्रतिनिधिसभा प्रत्यक्षतर्फ उम्मेदवार बनाउन रावलको नाम एकल सिफारिस भएको थियो ।
तर एमालेले रावलको स्थानमा माओवादी केन्द्र छाडेर आएका झपट बोहरालाई टिकट दिएको छ । सुदूरपश्चिम प्रदेशसभाका सांसद रहेका बोहोरा प्रदेश सरकारको अर्थमन्त्री रहेका थिए । २०७७ फागुन २३ मा नेकपा एकता प्रक्रिया खारेज भएपछि माओवादी केन्द्र नफर्की बोहोरा एमालेमा बसेका थिए । पछि उनलाई पार्टीले सांसद सदस्यबाट हटाएको थियो ।
१० बुँदे सहमतिपछि एमालेमा रहेका रावलले मंसिरमा भएको पार्टीको १०औं महाधिवेशनमा अध्यक्षमा केपी शर्मा ओलीविरुद्ध प्रतिस्पर्धा गरेका थिए । रावलको भूमिकालाई लिएर ओली असन्तुष्ट रहँदै आएका थिए ।
अछामको नेताहरुसँग भेटमा पनि अध्यक्ष ओलीले रावलको एकल नाम सिफारिसबारे चासो राखेका थिए । रावलले २०५१, २०७० सालको संविधानसभा र २०७४ सालको प्रतिनिधिसभा अछाम १ बाट निर्वाचित भएका थिए ।




















प्रतिक्रिया