Logo

राजनीति

एमालेले घनश्याम भुसाललाई पनि दिएन प्रतिनिधिसभाको टिकट



काठमाडौं । नेकपा एमालेका पूर्वउपमहासचिव घनश्याम भुसालले पनि प्रतिनिधिसभा सदस्य निर्वाचन लड्न पार्टीबाट टिकट नपाउने भएका छन् । भुसालले अघिल्लो पटक जितेको रुपन्देही–३ मा एमालेले राप्रपालाई छाड्ने भएपछि भुसालको हात खाली रहने भएको हो ।

भुसालले अध्यक्ष केपी शर्मा ओलीको पार्टी सञ्चालन प्रक्रियाको आलोचना गर्दै आएका छन् । एमालेले अध्यक्ष ‌ओलीका आलोचक पूर्वउपाध्यक्ष भीम रावललाई पनि एमालेले टिकट दिएको छैन ।

सत्ता गठबन्धनसँग अत्यन्तै संयम् देखिएको एमाले पनि अहिले कुरा मिल्ने दलहरुसँग चुनावी गठबन्धन बनाउनमा लागेको छ । यसै क्रममा शुक्रबार साँझ अध्यक्ष ओली निवास बालकोटमा राप्रपासँग् भएको वार्तामा ३ वटा निर्वाचन क्षेत्रको टुंगो लागेको बताइएको छ ।

राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनसहितको टोलीले शुक्रबार साँझ सीट बाँडफाँटको विषयमा एमाले अध्यक्ष ओलीसँग वार्ता गरेको थियो । राप्रपाले यसअघि घनश्यामले जितेका रुपन्देही–३ बाट दीपक बोहोरालाई उम्मेदवार बनाउने भएको छ । २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा भुसालले बोहोरालाई पराजित गरेका थिए ।

स्थायी कमिटी सदस्य भुसालसहित तिलोत्तमाका पूर्वमेयर बासुदेव घिमिरे, दुर्गा भुसाल तथा सर्वजीत शाहको नाम क्षेत्रीय कमिटीले सिफारिस गरेको थियो ।

प्रकाशित मिति : २१ आश्विन २०७९, शुक्रबार २२:१३   :  बजे

117
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।