Logo

अर्थ

सडक मर्मत नहुँदा खच्चडकै सहारा



जाजरकोट । जाजरकोटमा ग्रामीण सडक मर्मत नहुँदा यहाँ दैनिक उपभोग्य सामग्री ढुवानी गर्न खच्चडकै सहरा लिनुपरेको छ । हप्ता दिनसम्म आएको अविरल वर्षाका कारण भारी मात्रामा क्षति भएपछि यहाँका ग्रामीण सडक मर्मत हुन सकेका छैनन् । जिल्लाको बारेकोट गाउँपालिका, कुशे गाउँपालिका र जुनिचाँदे गाउँपालिकामा दैनिक उपभोग्य सामग्री ढुवानीमा बढी समस्य देखिएको छ । सडक ठाउँ–ठाउँमा भत्किएका कारण पैदलयात्रा गर्नसमेत मुस्किल हुँदै गएको छ ।

तत्काल सडक सञ्चालन गर्नका लागि नदीमा पानीको मात्रा कम नभएकाले डोजर लैजान सक्ने अवस्थासमेत नरहेको बताइएको छ । भेरी करिडोरबाट जाजरकोट–जुम्ला जोड्ने सडक, कालिमटी–बारेकोट, खलङ्गा–कुशे सडक र बारेकोट, पश्चिम छेडाबजार जुनिचाँदे जोड्ने सडकमा समेत समस्या आएको छ । यी सबै ठाउँमा घोडा, खच्चड र स्थानीयवासी आफैँले बोकेर सामग्री लैजानुको विकल्प अर्को नभएको सर्वसाधारण बताउँछन् ।

सडक अवरुद्ध भएसँगै दैनिक उपभोग्य सामग्रीसमेत महँगिएको बताइएको छ । बाटो अवरुद्ध भएसँगै निर्माण सामग्री लैजानसमेत समस्या भएको बताएको छ । बारेकोट गाउँपालिकाको बीचमा रहेको नलगाड नदीमा पुल नहुँदा सबैभन्दा बढी बारेकोट गाउँपालिकामा खच्चडकै भरमा विभिन्न सामग्री लिनुपरेको नायकबाडाका प्रेम शाहीले बताए । तिहार नजिकिँदै गर्दा गाडीमा गाउँ, गाउँमा पुग्ने सर्वसाधारणको सपना पूरा नहुने भएको छ । रासस

प्रकाशित मिति : ३ कार्तिक २०७९, बिहीबार १५:१५   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।