Logo

समाचार

सीप तथा रोजगार मेला सञ्चालन गर्न महासंघ र मन्त्रालयबीच सम्झौता



काठमाडौं । रोजगार खोजकर्ता र रोजगारदाताबीच प्रत्यक्ष सम्पर्क स्थापित गर्दै आन्तरिक रोजगारीका अवसर विस्तार गर्ने उद्देश्यले सरकारले ६ प्रदेशमा ‘सीप तथा रोजगार मेला, २०८३’ आयोजना गर्ने भएको छ।

यसका लागि युवा, श्रम तथा रोजगार मन्त्रालय र नेपाल उद्योग वाणिज्य महासंघबीच सम्झौता भएको छ। बिहीबार मन्त्रालयमा आयोजित कार्यक्रममा युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादव, मन्त्रालयका सचिव डा। दीपक काफ्ले र महासंघका अध्यक्ष अञ्जन श्रेष्ठको उपस्थितिमा सम्झौतापत्रमा हस्ताक्षर भएको हो।

सम्झौतामा मन्त्रालयका तर्फबाट सहसचिव हेमराज तामाङ र महासंघका तर्फबाट उपाध्यक्ष एवं रोजगार परिषद्का उपाध्यक्ष प्रबलजंग पाण्डेले हस्ताक्षर गरेका छन्।

सम्झौताअनुसार मेलाको नीतिगत नेतृत्व, सरकारी निकायसँगको समन्वय, सहजीकरण तथा रोजगारसम्बन्धी डिजिटल प्रणाली सञ्चालनको जिम्मेवारी मन्त्रालयले लिनेछ। महासंघले भने मेलाको व्यवस्थापन, सञ्चालन र कार्यान्वयन गर्नेछ।

मेलामा विभिन्न उद्योग तथा व्यवसायमा रहेका रिक्त पद र आवश्यक जनशक्तिबारे विवरण संकलन गरिनेछ। सोही आधारमा रोजगार खोजकर्ताबाट आवेदन लिई मेलास्थलमै प्रत्यक्ष अन्तर्वार्ता, प्रारम्भिक छनोट र रोजगार मिलानको व्यवस्था गरिने मन्त्रालयले जनाएको छ।

त्यस्तै, श्रम बजारको माग र रोजगारदाताको आवश्यकताअनुसार प्रत्येक प्रदेशमा विभिन्न विधाका १० वटा तालिमसमेत सञ्चालन गरिनेछ। तालिम सञ्चालनका लागि आवश्यक पूर्वाधार र व्यवस्थापकीय सहयोग महासंघले उपलब्ध गराउने सम्झौतामा उल्लेख छ।

सरकारले आर्थिक वर्ष २०८३र०८४ देखि २०९२र०९३ सम्मलाई ‘रोजगार प्रवर्द्धन दशक’ का रूपमा अघि बढाएको छ। यसै सन्दर्भमा आन्तरिक रोजगारी विस्तार, सीपयुक्त जनशक्ति उत्पादन र श्रम बजारमा युवाको सहभागिता बढाउन मेलाले महत्त्वपूर्ण योगदान पुर्‍याउने महासंघको विश्वास छ।

मेलामार्फत सिर्जना भएका रोजगारीका अवसरलाई कार्यक्रम सम्पन्न भएपछि पनि निरन्तरता दिन मन्त्रालय, महासंघ, रोजगार कार्यालय, स्थानीय तह र रोजगारदाताबीच समन्वय गरिने जनाइएको छ।

 

प्रकाशित मिति : ३ मंसिर २०८३, बिहीबार २०:५७   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।