Logo

समाचार

पूर्वश्रममन्त्रीद्वय कुँवर र यादवसहित ६ जनालाई ४ दिन म्याद थप



काठमाडौं । मलेसिया जाने नेपाली कामदारबाट विभिन्न अतिरिक्त शुल्कका नाममा साढे दुई अर्ब रुपैयाँ असुल गरेको आरोपमा पक्राउ परेका पूर्वश्रममन्त्रीद्वय शेरबहादुर कुँवर र रामेश्वर राय यादवसहित ६ जनालाई जिल्ला अदालत काठमाडौंले चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ।

केन्द्रीय अनुसन्धान ब्युरो सीआईबी को प्रारम्भिक अनुसन्धानअनुसार मलेसिया जाने करिब साढे सात लाख कामदारबाट उक्त रकम असुल गरिएको खुलेको हो।

असुल गरिएको रकममध्ये १ अर्ब ६९ करोड २ लाख २४ हजार रुपैयाँ श्रम मन्त्रालयका उच्चपदस्थ अधिकारीको सहयोगमा बैंकिङ प्रणालीमार्फत नै मलेसिया पठाइएको अनुसन्धानबाट देखिएको छ।

सीआईबीले पूर्वश्रममन्त्रीद्वय कुँवर र यादवलाई बुधबार पक्राउ गरेको थियो। उनीहरूसँगै तत्कालीन श्रमसचिव विनोद केसी, सहसचिवद्वय राजीव पोखरेल र उमेश ढुंगाना तथा उपसचिव निर्मला गुरुङ पनि पक्राउ परेका छन्।

यस प्रकरणमा तत्कालीन श्रमसचिव एकनारायण अर्यालविरुद्ध समेत पक्राउ पुर्जी जारी गरिएको छ।

नेपाल र मलेसिया सरकारबीच भएको श्रम सम्झौताको अपव्याख्या गर्दै मलेसिया जाने कामदारबाट म्यानपावर कम्पनीहरूले विभिन्न शीर्षकमा अतिरिक्त शुल्क उठाएको आरोप छ।

यसरी संकलन गरिएको रकम सरकारी अधिकारी र म्यानपावर व्यवसायीको मिलेमतोमा मलेसिया पठाइएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ।

प्रहरीले यस प्रकरणमा सरकारी अधिकारी र अन्य संलग्न व्यक्तिहरूको भूमिका तथा आर्थिक कारोबारबारे थप अनुसन्धान गरिरहेको छ।

प्रकाशित मिति : ३ मंसिर २०८३, बिहीबार २०:४२   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।