Logo

प्रमुख समाचार

ओली र देउवा सहकार्यको हात अघिबढ्यो, प्रचण्डलाई तनाव



१५ देखी २० बर्ष सम्म गठबन्धन गर्छौ भनेर चुनाव अघि भाषण गरेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल (प्रचण्ड) र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको सम्बन्ध चिसो बन्दै गएको छ ।

कुनै पनि हालतमा प्रधानमन्त्री बन्ने दाउमा रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको दाउमा घाउ लाग्ने अवस्था देखिएको छ । कांग्रेससँगको गठबन्धनमा भएपनि एमालेसँग पनि सरकार गठनको विकल्प माओवादी केन्द्रले खोलेपछि कांग्रेसले पनि काउन्टर फायर खोलेको छ ।

तेस्रो शक्तिको हिसाबमा कांग्रेस र एमालेमा खेलेर प्रधानमन्त्री पड्काउने दाउ हेरिरहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई झस्का लाग्ने खबर बाहिरिएको छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी ओलीले प्रधानमन्त्री एवं कांग्रेस सभापति देउवालाई सहकार्य प्रस्ताव पठाएका छन् ।

देउवालाई नेकपा एमालेका अध्यक्ष ओलीले आगामी सत्ता सहकार्य लागि सन्देश पठाएका छन् । कांग्रेसका शीर्ष नेता प्रकाशमान सिंहमार्फत ओलीले सत्ता सहकार्यको सन्देश पठाएको बालुवाटार उच्च स्रोतले जनाएको छ । गत आइतबार कांग्रेस नेता सिंह ओलीलाई भेट्न उनको निवास बालकोट पुगेका थिए ।

सिंहको सचिवालयका अनुसार पहिला प्रधानमन्त्री देउवालाई भेटेर नेता सिंह ओली भेट्न बालकोट पुगेका हुन् । ओलीसँग भएको कुराकानीबारे सिंह बुधबार साझा बालुवाटार गएर प्रधानमन्त्री देउवालाई ब्रिफ्रिङ गरेका थिए ।

प्रतिनिधिसभा सदस्यमा काठमाडौं– १ बाट निर्वाचित सिंह र झापा– ५ निर्वाचित ओलीबीच बधार्इ साटासाटसँग आगामी सत्ता सहकार्यबारे कुराकानी भएको पाइएको छ ।

ओलीसँग भएको कुराकानीबारे सिंहले बुधबार साँझ बालुवाटार गएर प्रधानमन्त्री देउवालाई विफ्रिङ गर्नुभएको थियो । वर्तमान गठबन्धनलाई पहिलो प्राथमिकतामा राखेका देउवाले ओलीको सन्देशलाई पनि ‘नोटिस’ मा राखेको बालुवाटार स्रोतको दाबी छ ।

ओलीको सन्देशमा भनिएको छ – ‘सत्ता गठबन्धन बहुमत पुग–नपुग अवस्थामा छ । पुतली जस्तो सरकार बनाउनुभन्दा नेपाली कांग्रेस र नेकपा एमाले मिलेर बनाएर जान सकिन्छ । हामी त्यसका लागि तयार छौं । तपाईंको सभापतिलाई भन्नुहोला ।’

वर्तमान गठबन्धनलाई अगाडि बढाउने विषयमा गडबड भए मात्र एमाले मिलेर सरकार बनाउन कांग्रेसले कसरत गर्ने बुझिएको छ । मुलुकलाई स्थिरता दिँदै विकास र समृद्धिको बाटोमा लानका लागी काग्रेस एमाले मिल्नु पर्ने आवाज दुवै पार्टीमा जोडतोडले उठिरहेको छ ।

प्रकाशित मिति : १९ मंसिर २०७९, सोमबार ०७:००   :  बजे

231
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।