Logo

राजनीति

बालुवाटार बैठक : पहिला प्रचण्डलाई प्रधानमन्त्री बनाउन देउवा सकारात्मक



काठमाडौं । सत्तारुढ गठबन्धनका तीन शीर्ष नेताहरुबीच प्रधानमन्त्रीकाे सरकारी निवास बालुवाटारमा छलफल भएको छ । आगामी सरकारको नेतृत्वमा दाबी गर्दै आएका माओवादी केन्द्रका अध्यक्ष एवं संसदीय दलका नेता पुष्पकमल दाहाल प्रचण्ड बिहीबार साँझ प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवालाई भेट्न बालुवाटार पुगेका थिए ।

दुई नेताहरुबीच छलफलमा केही सयमपछि नेकपा एकीकृत समाजवादी अध्यक्ष माधव नेपाल पनि थपिएका थिए । त्यसपछि तीन शीर्ष नेताहरुबीच करिब डेढ घण्टा छलफल भयाे । छलफलमा नयाँ सरकार गठनबारे कुराकानी भएको र त्यसक्रममा प्रधानमन्त्री, राष्ट्रपति, सभामुख लगायतका पदको शक्ति बाँडफाँट गरेर राष्ट्रपतिले दिएको समय सीमाभित्रै नयाँ सरकार गठन गर्नुपर्नेमा धारणा आदानप्रदान भएकाे बताइएकाे छ ।

स्रोतका अनुसार आजको भेटमा अध्यक्ष प्रचण्डले अब बन्ने नयाँ सरकारको नेतृत्वमा पहिला आफूलाई सघाउन प्रधानमन्त्री देउवासँग आग्रह गरेका थिए । प्रचण्डको प्रस्तावमा देउवाले ठोस जवाफ नदिएको तर छलफल गर्न सकिने भन्दै सकारात्मक जवाफ दिएका छन् । साथै नेताहरुबीच राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, उपसभामुखलगायतका पदमा प्याकेजमा सहमति भएको स्रोतको दाबी छ ।

बिहीबार सबै दलको नेता चयन भएसँगै तीन नेता छलफलमा जुटेका हुन् । भोलि पुनः बस्नेगरी नेताहरू उठेका अध्यक्ष प्रचण्डको सचिवालयले जनाएको छ । गठबन्धन दलबीच सरकार बनाउने सहमति बनेपनि नेतृत्व कसले गर्ने भन्ने टुंगिन सकेको छैन ।

सरकार गठनका लागि दलहरूलाई राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको समय अब ३ दिन मात्र बाँकी छ । गठबन्धनमा प्रधानमन्त्रीसहित राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उपसभामुख, मुख्यमन्त्रीसहित मुख्य संवैधानिक पदमा प्याकेजमा भागवण्डा मिलाउने प्रयास भइरहेको छ ।

प्रकाशित मिति : ७ पुष २०७९, बिहीबार २१:३५   :  बजे

126
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।