Logo

राजनीति

बालुवाटार वार्ता : देउवा–प्रचण्ड आ–आफ्नै अडानमा यथावत, शनिबार पुनः बस्ने



काठमाडौं । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच नयाँ सरकार गठनबारे छलफल भएको छ । शनिबार दिउँसो फेरि छलफल गर्ने गरी शुक्रबारको बैठक सकिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द परियारले जानकारी दिए ।

सरकार गठन लगायतका विषयमा छलफल गर्न देउवा र प्रचण्डबीच शुक्रबार साँझ साढे ५ बजेदेखि २ घण्टा छलफल भएको थियो । देउवा र प्रचण्डबीच बिहीबार पनि बालुवाटारमा नयाँ सरकार गठन र पावर शेयरिङको विषयमा छलफल भएको छ । त्यसक्रममा एकीकृत समाजवादी अध्यक्ष माधव नेपाल पनि पुगेका थिए ।

बिहीबारको भेटवार्तामा प्रचण्डले आफूलाई पहिला प्रधानमन्त्रीमा सघाउन देउवासमक्ष आग्रह गरेका थिए । आज बिहान पनि गठबन्धन दलका नेताहरुबीच सरकार गठनको विषयमा विभिन्न माध्यमबाट छलफल भएको थियो ।

कांग्रेस नेता प्रकाशमान सिंह प्रचण्डलाई भेट्न उनकै निवास खुमलटार पुगेका थिए । त्यहाँबाट पुनः उनी देउवा भेट्न बालुवाटार पनि पुगेका थिए । त्यसपछि साँझ देउवासँग भेट्न प्रचण्ड आफै बालुवाटार पुगेका हुन् ।

गठबन्धनको सरकार बनाउन शीर्ष नेताहरु सहमत भए पनि पहिलो कार्यकाल कसले नेतृत्व गर्ने भन्ने विषयमा सहमति बन्न सकेको छैन ।

प्रकाशित मिति : ८ पुष २०७९, शुक्रबार २०:२४   :  बजे

63
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।