काठमाडौं । राष्ट्रपतिसँगै नयाँ सरकारको नेतृत्व पहिला आफूले गर्न पाउनुपर्ने अडानका कारण नेपाली कांग्रेस अन्ततः ‘हेरेको हे¥यै’को अवस्थामा पुगेको छ । २०७४ मा २३ सिट ल्याएर प्रतिपक्षमा बसेको कांग्रेस ४ मंसिरको आमनिर्वाचनमा ८९ सिटका साथ संसद्को पहिलो दल बन्दा पनि प्रतिपक्षमै बस्नुपर्ने भएको छ ।
वाम–लोकतान्त्रिक गठबन्धनकै सरकार बनाउने प्रयास भएपनि कांग्रेसले दाबी नछाड्दा असफल भएको छ । कांग्रेस नेतृत्वको पाँचदलीय सत्तागठबन्धन विघटन भएसँगै अहिले केन्द्रसँग सातै प्रदेशसम्मको राजनीति समीकरण बदलिएको छ ।
एमाले–माओवादी नेतृत्वमा सातदलीय गठबन्धन बनेसँगै पहिलो दल बनेको कांग्रेस सातै प्रदेशमा पाखा लागेको छ । सबै प्रदेशमा एमाले, माओवादी केन्द्र, राप्रपा, जसपा, नागरिक उन्मुक्ति, जनमत मिल्दा सहज बहुमत देखिन्छ ।
प्रदेश–१
अहिलेको नयाँ समीकरणले प्रदेश १ मा सात दलीय गठबन्धनको सरकार सहज रुपमा बन्ने देखिन्छ । ९३ सदस्यी प्रदेशसभा सरकार बनाउन ४७ सांसदको समर्थन आवश्यक हुन्छ ।
प्रदेशसभामा एमालेको ४०, माओवादीको १३, राप्रपाको ६ र जसपाको १ सीट छ । ४७ सांसदको समर्थन आवश्यक पर्ने यो प्रदेशमा एमाले, माओवादी, राप्रपा र जसपा मिल्दा ६० पुग्छ ।
प्रदेशमा कांग्रेस २९ सीट भए पनि अब प्रतिपक्षमा बस्नुपर्ने अवस्था देखिन्छ । यहाँ नेकपा एकीकृत समाजवादीले ४ सीट पाएको छ ।
मधेस प्रदेश
मधेश प्रदेशमा पनि नयाँ बनेको सात दलीय गठबन्धनले नै सरकार बनाउने देखिन्छ । १०७ सदस्यीय मधेस प्रदेशसभामा सरकार गठनका लागि ५४ सांसद आवश्यक पर्छ । प्रदेशसभामा एमालेको २३, जसपाको १६, जनमत पार्टी १३, माओवादी केन्द्रसँग ८, राप्रपाका २ र नागरिक उन्मुक्तिका १ सांसद छन् ।
कांग्रेसले २२ र एकीकृत समाजवादीसँग ७, लोसपाको ९, संघीय समाजवादीका एक र ६ जना स्वतन्त्र सांसद छन् । सरकार गठनका लागि ५४ सांसद आवश्यक पर्नेमा सात दलीय गठन्धनसँग ६३ सांसद पुग्छन् ।
बागमती प्रदेश
११० सदस्यीय बागतमी प्रदेशसभामा सरकार गठनका लागि ५६ सीट आवश्यक पर्छ । यहाँ एमालेसँग २७, माओवादी केन्द्रसँग २१, राप्रपासँग १३ सांसद छन् ।
प्रदेशमा कांग्रेससँग ३७, एकीकृत समाजवादीसँग ७, नेमकिपासँग ३ र हाम्रो पार्टीसँग २ सांसद छन् । सरकार गठनका लागि ५६ सांसद आवश्यक पर्नेमा अहिलेको गठबन्धनसँग ६१ सिट रहेको छ ।
गण्डकी प्रदेश
गण्डकी प्रदेशमा पनि फेरिएको समीकरणले पहिलो दल कांग्रेस प्रतिपक्षमै बस्ने देखिन्छ । यहाँ कांग्रेससँग २७ सांसद छन् । एकीकृत समाजवादीका १ सांसद छन् । नयाँ गठबनधनमा सामेल भएका दलहरु एमालेसँग २२, माओवादी केन्द्रसँग ८ र राप्रपासँग २ सांसद छन् ।
६० सदस्यीय गण्डकी प्रदेशमा सरकार गठनका लागि ३१ सांसदको समर्थन आवश्यक पर्छ । सात दलीय गठबन्धनसँग ३२ सांसद छन्, जसबाट सहज रुपमा सरकार बन्ने देखिन्छ ।
लुम्बिनी प्रदेश
लुम्बिनी प्रदेशमा अहिलेको नयाँ सात दलीय गठबन्धनको नेतृत्व गरेकै दल एमाले पहिलो दल हो । उसको प्रदेशसभामा २९ सांसद छन् । माओवादी ९, राप्रपा ४, जसपा ३, नागरिक उन्मुक्ति ४, जनमत ३ सांसद छन् ।
८७ सदस्यीय लुम्बिनी प्रदेशसभामा बहुमतका लागि ४४ सांसदको समर्थन भए पुग्छ । तर सात दलीय गठबन्धनसँग ५२ सांसद हुन्छन् । जुन सरकार गठनका लागि पर्याप्त संख्या हो ।
यहाँ कांग्रेस २७, लोसपा ३, नेकपा एकीकृत समाजवादी १, जनमोर्चा १ र स्वतन्त्र ३ सांसद छन् ।
कर्णाली प्रदेश
कर्णाली प्रदेशसभाको ठूलो दल कांग्रेस हो । तर उसले यहाँ पनि केन्द्रकै जस्तो नियती भोग्नुपर्ने देखिन्छ । कर्णालीमा माओवादीका १३, एमालेका १० र राप्रपाका १ सांसद छन् ।
४० सदस्यीय प्रदेशसभामा सरकार गठनका लागि २१ सांसदको समर्थन आवश्यक पर्ने सात दलीय नयाँ गठबन्धनसँग २४ सांसद छन् । कर्णालीमा कांग्रेस १४ सिट ल्याएको छ भने एकीकृत समाजवादीको एक सीट छ ।
सुदूरपश्चिम प्रदेश
सुदूरपश्चि प्रदेशसभा ५३ सदस्यीय छ । सरकार बन्न २७ सांसदको समर्थन आवश्यक पर्छ । माओवादीसँग ११, एमालेसँग १०, नागरिक उन्मुक्ति पार्टीका ७, राप्रपासँग १ गरी २९ सांसद छन्, जुन नयाँ गठबन्धनलाई सरकार बनाउन सुविधाजनक बहुमत संख्या हो ।
सुदूरपश्चिममा कांग्रेसका १९, एकीकृत समाजवादीका ४ र एक जना स्वतन्त्र सांसद रहेका छन् ।




















प्रतिक्रिया