काठमाडौं । नेपाल पत्रकार महासंघले सन् २०२२ नेपाली प्रेस र अभिव्यक्ति स्वतन्त्रताको सवालमा निकै चुनौतीपूर्ण बितेको जनाएको छ । नयाँ प्रविधि र शैलीको विकाससँगै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता विरुद्धका घटनामा पनि नयाँ–नयाँ तरिका अपनाइएको र त्यसैगरी चुनौतीहरु पनि थपिएको महासंघले जनाएको छ ।
‘समाचारमा असहमति राख्ने व्यक्ति वा समूहले सञ्चार संस्था र पत्रकारमाथि नयाँ–नयाँ तरिका अपनाएर आक्रमण गर्नेक्रम सुरू भएको छ । यसले नेपाली पत्रकारिता क्षेत्रमा चुनौती थपेको छ,’ महासंघका महासचिव रोशन पुरीले विज्ञप्तिमार्फत भनेका छन् ।
महासंघले यो वर्ष संघ, प्रदेश र स्थानीय सरकारले सञ्चारसम्बद्ध कानुनहरू ल्याए पनि त्यसले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको प्रवर्द्धन गर्नेभन्दा पनि संविधानको पूर्ण प्रेस स्वतन्त्रताको व्यवस्थामाथि नै चुनौती थपेको जनाएको छ ।
अघिल्लो वर्षमा भन्दा यो वर्ष डिजिटल माध्यमबाट सञ्चारमाध्यम र पत्रकारमाथि आक्रमण भएको महासंघले जनाएको छ । जसअनुसार अनलाइन सञ्चारमाध्यमको सिएमएसमा अनधिकृत प्रवेश गर्ने, संगठितरूपमा अनफलो अभियान चलाउने, सामाजिक सञ्जालमार्फत विभिन्न प्रकारका धम्की दिने, सामाजिक सञ्जाललाई बन्द गर्न प्रयास गर्ने र विमुख बनाउने तथा हृयाक गर्ने काम भएको जनाइएको छ ।
महासंघले यो वर्ष प्रेस स्वतन्त्रता हननका ५३ वटा घटना घटेका जनाएको छ । त्यस्ता घटनामा परी १३२ जना पुरुष र १८ जना महिला पत्रकारसहित ६ वटा सञ्चारसंस्था प्रभावित भएका छन् । यो अघिल्लो वर्षको तुलनामा भने कम हो । सन् २०२१ मा प्रेस स्वतन्त्रता हननका ६२ वटा घटना अभिलेख भएका थिए । ती घटनामा १९० जना पत्रकार तथा ४ सञ्चारमाध्यम प्रभावित भएका थिए ।





















प्रतिक्रिया