Logo

प्रमुख समाचार

प्रधानमन्त्री प्रचण्डलाई भेटेर माधव नेपालले के भने ?



काठमाडाैं । प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । सिंहदरबारस्थित माओवादीको संसदीय दलको कार्यालयमा भएको सो भेटवार्तामा समसामयिक राजनीतिक विषयमा कुराकानी भएको प्रधानमन्त्री प्रचण्ड को सचिवालयले जनाएको छ ।

उनीहरुबीच एकीकृत समाजवादीबाट समर्थनसहित सरकारमा सहभागिता, विश्वासको मतलगायत विषयमा छलफल भएको थियो । भेटमा प्रधानमन्त्री प्रचण्डले विश्वासको मत दिन आग्रह गरेका थिए । जवाफमा अध्यक्ष नेपालले पार्टीभित्र सल्लाह गरेर निर्णय गर्ने बताएका थिए । नेकपा एमालेसहित ७ दलकाे समर्थनमा प्रधानमन्त्री बनेका प्रचण्डले यही पुस २६ गते संसदमा विश्वासकाे मत लिने तयारी गरेका छन् ।

प्रचण्ड विभिन्न राजनीतिक दलसहित १६९ सांसदको समर्थनमा यही पुस १० गते प्रधानमन्त्रीमा नियुक्त भएका हुन् । नेपालको संविधानको धारा ७६ उपधारा (२) बमोजिम नियुक्त भएको प्रधानमन्त्रीले सोही धाराको उपधारा (४) बमोजिम प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गर्नुपर्ने प्रावधान छ ।

आफूसँग कुनै सल्लाह नगरी एमाले अध्यक्ष केपी शर्मा ओलीसँग मिल्न गएकाे भन्दै नेपाल प्रचण्डसँग असन्तुष्ट रहँदै आएका छन् । तर सरकारमा ल्याउने प्रयारमा प्रधानमन्त्री प्रचण्ड छन् । प्रचण्डले यसअघि पुस १३ गते अध्यक्ष नेपाललाई भेटेका थिए ।

प्रकाशित मिति : २० पुष २०७९, बुधबार १५:५५   :  बजे

102
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।