Logo

प्रमुख समाचार

गृहमन्त्री लामिछानेविरुद्धकाे मुद्दामा सुनुवाइ सकियो, फैसलाबारे न्यायाधीशहरू छलफलमा



काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नागरिकता विवादसम्बन्धी मुद्दामा सुनुवाइ सकिएको छ । कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, डा आनन्दमोहन भट्टराई, अनिल कुमार सिन्हाको संवैधानिक इजलासमा लामिछाने विरुद्धको मुद्दाको सुनुवाइ भएको हो ।

अमेरिकी नागरिकता र पासपोर्ट प्राप्त गरेसँगै नेपाली नागरिकता स्वतः बदर हुनेमा लामिछानेले नेपाल फर्केर दल दर्ता तथा प्रतिनिधिसभामा उम्मेदवार बन्दा पुरानै नागरिकता प्रयोग गरेको उनीविरुद्धको रिटमा उल्लेख छ ।

यसअघि बुधबार अन्तिम सुनुवाइ सुरु भएको मुद्दा हेर्दाहेर्दैमा राखिएको थियो । आज यसलाई निरन्तरता दिइएको थियो भने अहिले सुनुवाइ सकिसकेको छ । आज उपप्रधानमन्त्री लामिछानेका वकिलहरूले बहस गरेपछि रिट निवेदकहरुले जवाफी बहस गरेका थिए । अहिले मुद्दाको आदेशबारे न्यायाधीशहरू छलफलमा जुटेका छन् । अब सर्वोच्चले आजै संक्षिप्त आदेशसहित निर्णय सुनाउने वा निर्णय सुनाउने कुनै मिति तोक्ने छ ।

यसअघि गत पुस २२ गते संवैधानिक इजलासमा बहस भएको थियो । सो दिन जारी आदेशमा ‘विवादको सुनुवाइलाई अग्राधिकार प्रदान गरी छिटो छरितो रूपमा सम्पन्न गर्न आवश्यक देखिएको’ जनाइएको थियो । संवैधानिक इजलासले लामिछानेको नागरिकतासम्बन्धी विवादमा मागेको जवाफमा प्रतिनिधिसभा सचिवालय, निर्वाचन आयोग र जिल्ला प्रशासन कार्यालय काठमाडौंले रिट खारेज गर्न माग गरेका छन् ।

चितवन २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित लामिछानेले पुस ११ गते उपप्रधान तथा गृहमन्त्रीकाे शपथ लिएर पदभार ग्रहण गरेका थिए ।

  • याे पनि…

‘रविमा देशप्रति बफादारिता छैन भन्ने कुरा पटक-पटक राज्यलाई ढाँट्नु र छल्नुले पुष्टि गरेको छ’

रविका वकिललाई न्यायाधीशले भने : अमेरिकी नागरिक रहेकै बेला नेपाली पासपोर्ट निकालेको तथ्य हो

प्रकाशित मिति : १३ माघ २०७९, शुक्रबार १३:४२   :  बजे

51
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।