काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेविरुद्धको मुद्दामा फैसला आउने भएसँगै सर्वोच्च अदालत परिसरमा सुरक्षा तैनाथी बढाइएको छ । शुक्रबार सर्वोच्चमा गृहमन्त्री लामिछानेको नागरिकतासम्बन्धी मुद्दाको सुनुवाइ सकिएर फैसलाको तयारी भएसँगै सुरक्षा तैनाथी बढाइएको हो ।
मुद्दाको सुनुवाइ सकिएसँगै जिल्ला प्रहरी परिसर काठमाडौँबाट डीएसपी पवत भट्टराईको नेतृत्वमा थप टोली र प्रहरी वृत्त सिंहदरबारबाट पनि थप टोली पठाइएको जनाइएको छ । यस्तै सर्वोच्चमा एसपीको कमाण्डमा नियमित टोली पनि रहेको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति समेत रहेका लामिछानेको नागरिकतासम्बन्धी मुद्दामा पक्ष र विपक्षमा बहस सकिएसँगै फैसलाका लागि न्यायाधीशहरु आन्तरिक गृहकार्यमा लागेका छन् । फैसला आजै आउने वा मिति तोक्ने भन्नेबारे जानकारी दिइएको छैन ।
संवैधानिक इजलासमा आज रविको पक्षबाट वरिष्ठ अधिवक्ता नरेन्द्र केसीसहित अधिवक्ताहरु आशिष अधिकारी, सुदिग्य पन्द, यज्ञमणि न्यौपाने र शशिकुमार पोखरेलले बहस गरेका थिए । यस्तै निवेदकको पक्षबाट सुरेन्द्र भण्डारी, रमन कर्ण, अनिता श्रेष्ठ, सन्तोष भण्डारी र कीर्तिनाथ शर्मा पौडेलले जवाफी बहस गरेसँगै सुनुवाइ सकिएको थियो ।
कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीश विश्वभरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, डा आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हाको संवैधानिक इजलासमा बुधबारदेखि मुद्दाको सुनुवाइ भएको थियो । चितवन २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित लामिछानेले पुस ११ गते उपप्रधान तथा गृहमन्त्रीको शपथ लिएर पदभार ग्रहण गरेका थिए ।
- याे पनि…
गृहमन्त्री लामिछानेविरुद्धकाे मुद्दामा सुनुवाइ सकियो, फैसलाबारे न्यायाधीशहरू छलफलमा
‘रविमा देशप्रति बफादारिता छैन भन्ने कुरा पटक-पटक राज्यलाई ढाँट्नु र छल्नुले पुष्टि गरेको छ’
रविका वकिललाई न्यायाधीशले भने : अमेरिकी नागरिक रहेकै बेला नेपाली पासपोर्ट निकालेको तथ्य हो




















प्रतिक्रिया