पोखरा आफैमा रमणीय वातावरणले सजिएको शहर हो । नेपालको एउटा प्रमुख पर्यटकीय गन्तव्य रहेको यो शहर मनोरञ्जन र साहासिक खेलहरुको लागि समेत प्रख्यात छ । भर्खरै मात्र नयाँ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सम्पन्न भएर सञ्चालनमा आएको पोखरामा फेवा ताल, विभिन्न गुफा, डेविडफल्स जस्ता झरनाहरु, सराङकोट र सराङकोटबाट देखिने थुप्रै हिमालय र सिंगो पोखराको मनमोहक दृश्य लगायतले आन्तरितक र बाह्य पर्यटकहरुलाई स्वागत गर्न बसिरहे झैँ देखिन्छन् ।
यस्तैमा पोखराको सौन्दर्यमा एउटा नयाँ बान्की थप्न भर्खरै मात्र सञ्चालनमा आएको छ– अन्नपूर्ण केवलकार । अन्नपूर्ण केवलकारले पोखरामा पर्यटकलाई एकैपटक फेवातालदेखि साराङकोट हुँदै हिउँले भरिएका थुप्रै चुचुरासँगै पोखरा उपत्यकाको एकै पटक दृश्यावलोकन गराउन सक्नेछ ।
पोखराको प्रमुख पर्यटकीय गन्तव्य लेक साईडको सेदीबगर देखि अर्को प्रमुख गन्तव्य सराङकोटसम्म सञ्चालन गरिएको यस भेग कै पहिलो केबलकार अन्नपूर्ण केवलकारले २०७८ फागुन ७ गतेबाट १७ वटा प्यासेन्जर क्याविन (गोन्डोला) सहित आफ्नो सेवा परीक्षणको रुपमा सञ्चालन गरेको थियो । पाँच महिनाको परीक्षण सञ्चालन र प्राविधिक जाँचपछि औपचारिक रुपमा २०७९ साउन १७ गतेबाट व्यवसायिक रुपमा सञ्चालन सुरु भएको केवलकारले यो छोटै अवधिमा पनि हजारौं यात्रुहरुलाई दृश्यावलोकन र मनोरञ्जनसहित आफ्नो सेवामा सन्तुष्ट बनाउन सफल भएको छ ।
अन्नपूर्ण केवलकारलाई सेदी बगरदेखि सराङकोट सम्मको एरियल दुरी २,२०० मिटरपार गर्न जम्मा १० मिनेटको समय लाग्ने गरेको छ । यसले एक घण्टामा ५०० जनायात्रुलाई सेवा दिने गरेका यसका प्रशासकीय प्रमुख दामोदर तिमिल्सिना बताउँछन् । तिमिल्सिनाका अनुसार अहिले अन्नपूर्ण केबलकार चढेर मुख्य गरी सुर्याेदय र सुर्यास्तको मज्जा लिने यात्रुको संख्या धेरै छ र अन्य समयमा पनि केवलकार चढ्ने यात्रुको चाप बिस्तारै बढिरहेको छ । सुर्योदय हेर्नका लागि भनेर बिहान झिसमिसे देखि नै यात्रुहरुको घुइँचो लाग्छ । त्यसैलाई मध्यनजर राख्दै बिहान ५ बजेदेखि नै केबलकारले आफ्नो सेवा सुरु गर्दछ भने बेलुका सुर्यास्तको अबलोकन पछि फर्कने यात्रुहरुलाई सेदीबगर पुर्याएर यसले आफ्नो सेवा बन्दगर्ने गरेको छ ।
अन्नपुर्ण केवलकारले सराङकोटमा भ्यू टावर पनि बनाएको छ । जहाँबाट धौलागिरी हिमाल (८१६७मि.), मनास्लु हिमाल (८१६३मि.), अन्नपूर्ण हिमाल (७९३७मि.) माछापुछ्रे हिमाल (७९९७मि.), लमजुङ हिमाल (७९८३मि.), गंगापूर्ण हिमाल (७४५५मि.) लगायतका अन्य थुप्रै हिमालयका चुचुरोहरुको दृश्य निकै मनोरमका साथ नियाल्न सकिन्छ । सेदी बगरबाट केवलकार चढेर सिंगो पोखरा उपत्यकालाई नियाल्दै ताल बराहीसँगै फेवातालको पूर्ण दृश्यावलोकन गर्दै हिमालयको चिसो हावामा कावा खाँदै सराङकोट डाँडामा पुग्नु र तितमा महिमालयका दृश्यहरु नियाल्नुको मजा यहाँ कसरी वर्णन गर्न सकिएला र !
केवलकार चढेर सेदीबगर देखि सराङकोट पुग्ने अनि सराङकोट घुमेर फेरि सेदीबगर फर्कनका लागि जम्मा नेपाली रु.७०० (रुपैयाँसात सय मात्र) को टिकट काटे पुग्छ । यसमा विदेशीहरुका लागि भने फरक व्यवस्था रहेको छ । जहाँ सार्क मुलुकका यात्रीहरुका लगि रु. ८०० (रुपैयाँ आठ सय) र अन्य मुलुकका यात्रीहरुका लागि भने ९ अमेरिकी डलरको टिकट काट्नु पर्ने हुन्छ । यो दुइ तर्फी भाडा दर हो । केवलकारमा एकतर्फी रुपमा पनि यात्रा गर्न पाइने व्यवस्था छ । जसका लागि नेपालीहरुले रु.४०० (रुपैयाँ चार सय मात्र), सार्क देशका यात्रीहरुका लागि रु. ५०० (पाँचसय रुपैयाँ मात्र) र अन्य मुलुकका यात्रुहरुका लागि ५ अमेरिकी डलर बराबरको टिकटको व्यवस्था गरिएको छ ।
यसमा ३ फिट भन्दा कम उचाईका बच्चाहरुका लागि टिकटन लाग्ने व्यवस्था छ भने ३ फिट भन्दा माथी ४ फिट सम्मका बच्चाहरुका लागि छुट्टै “बच्चा टिकट”को व्यवस्था गरिएको छ । त्यसैगरी नेपाली विद्यार्थी र ६० वर्ष नाघेका नेपाली नागरिकहरुका लागि परिचयपत्रका आधारमा सहुलियत दरको टिकटको समेत व्यवस्था गरिएको प्रशासकिय प्रमुख तिमल्सिनाले जानकारी दिए ।
अन्नपूर्ण केवलकारले सराङकोट रहेको बेलुन होटललाई पनि पवद्र्धन गरेको छ । जसले यात्रुहरुलाई सफा, स्वच्छ खाना र खाजाको प्रबन्ध गरिरहेको छ । केवलकार व्यवस्थापनले अहिले प्रत्यक्ष अप्रत्यक्ष थुप्रैलाई रोजगार दिएको छ । तिमिल्सिनाका अनुसार अहिले ६५ जना अन्नपुर्ण केबलकारको प्रत्यक्ष कामसँग गाँसिएका छन् भने करिब १०० जनालाई यसले अप्रत्यक्ष रुपमा रोजगार उपलब्ध गराएको छ ।
नेपाली उद्यमीहरुको पोखरामा केवलकार सञ्चालन गर्ने सपनालाई साकार पार्न नेपाली र जापानी लगानी कर्ताहरुद्वारा प्रवर्द्धित यस अन्नपूर्ण केवलकार निकट भविष्यमा नै आफ्नो सेवाको विस्तार गर्ने योजना बनाएको छ । अहिले सञ्चालन भइरहेको १७ वटा प्यासेन्जर क्याविन (गोन्डोला) लाई विस्तार गर्दै ३५ वटा बनाउने लक्ष्य रहेको तिमल्सिना सुनाउँछन् । “३५ वटा गोन्डोलावाट प्रत्येक घण्टा करिब एक हजार जना यात्रुलाई सेवा दिने लक्ष्यका साथ हामी आफ्नो कार्ययोजना अगाडी बढाई रहेका छौं” उनको कथन छ । तिमिल्सिनाको अनुसार अन्नपूर्ण केवलकारले सराङकोटमा पनि दुईवटा बेलुनहोटल थप्ने योजना बनाएको छ भने अरु थुप्रै पर्यटकीय प्याकेजहरु पनि सञ्चालनमा ल्याउने योजना बनाएको छ ।
नेपालको समृद्धिको एउटा महत्वपूर्ण आधारस्तम्भको रुपमा रहेको पर्यटकीय क्षेत्रमा नयाँ नयाँ योजना र सम्भावनाहरु देखा पर्नु पक्कै पनि सुखद पक्ष हो । हरेक क्षेत्रमा नेपाललाई आत्मनिर्भर बनाउनु र पर्यटकीय क्षेत्रमा नयाँ नयाँ सम्भावनाको खोजी गर्दै सबै मिलेर धेरै भन्दा धेरै पर्यटक भित्र्याउने वातावरण बनाउनु नै आजको आवश्यकता हो । अझपोखरा जस्तो अर्थतन्त्रको पहिलो आधार नै पर्यटन रहेको शहरमा एउटा नयाँ आकर्षक पर्यटकीय गन्तव्यको रुपमा अन्नपुर्ण केबलकार सञ्चालन हुनु आफैमा एउटा महत्वपूर्ण कदम हो । आशा गरौं यसले पोखराको पर्यटन उद्योगलाई नयाँ उचाइमा उठाउने छ, पोखराको पर्यटनलाई नयाँ गन्तव्यतर्फ डोर्याउने छ ।




















प्रतिक्रिया