काठमाडौं । राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंकहरुलाई नआत्तिन आग्रह गरेका छन् । वाणिज्य बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)हरुसँग होटल याक एन्ड यतिमा भएको ४ घण्टा लामो डिनर मिटिङमा गभर्नर अधिकारीले यस्तो ढाडस दिएका हुन् ।
छलफलमा सीईओहरूलाई आफ्ना समस्या राख्न समय दिइएको थियो। घरेलु साना तथा मझौला उद्योग व्यवसाय, सिमेन्ट तथा छड उत्पादक, पर्यटन र निर्माणलगायतका क्षेत्रहरु समस्यामा रहेकाले बैंकहरुमा खराब कर्जा बढेको बैंकका सीईओहरूले बताएका थिए ।
यी क्षेत्र सहज हुनसाथ बैंकको खराब कर्जा घट्ने बताउँदै उनीहरुले निश्चित अवधिका लागि कर्जाको पुनर्संचरना गर्न आग्रह गरेका थिए। पछिल्लो समय बैंक तथा वित्तीय संस्थाविरोधी गतिविधि बढेको भन्दै यसका बारेमा पनि उनीहरुले छलफल गरेको बताइएको छ ।
जवाफमा राष्ट्र बैंकका गभर्नर अधिकारीले अहिले नै आतिहाल्नुपर्ने अवस्था नरहेको बताएका थिए । उनले बैंकरको कुरा मात्रै सुनेर कुनै पनि नीतिगत निर्णयको संकेत भने गरेका थिएनन्। यद्यपि, चालु आर्थिक वर्षको मौद्रिक नीतिको तेस्रो समीक्षाको पूर्वसन्ध्यामा बैंकरसँग छलफल भएकाले राष्ट्र बैंकले केही नीतिगत निर्णय गर्ने संकेतको रुपमा बुझ्नुपर्ने राष्ट्र बैंकका अधिकारी बताउँछन्।
गभर्नर अधिकारीले बैंकरहरुलाई ढाडस दिँदै गत वर्षको तुलनामा खराब कर्जा बढेपनि आतिहाल्नुपर्ने अवस्था नरहेको बताएका थिए । बैंकविरोधी घट्नाप्रति संकेत गर्दै यस्ता गतिविधि निरन्तर रुपमा अगाडि बढेमा राष्ट्र बैंक कठोर रूपमा प्रस्तुत हुने आश्वासन गभर्नर अधिकारीले बैंकर्सलाई दिएका बताइएको छ ।




















प्रतिक्रिया