Logo

अर्थ

ढाकाकुमारको ‘घुस डिल’ प्रकरण : अनुशासन समितिले बुझाएको छानबिन प्रतिवेदनमा के छ ?

सांसदलाई घुस अफर गर्ने व्यवसायी प्रसाईंमाथि पनि छानबिन हुनुपर्ने माग



काठमाडौं । ‘घुस डिल’ प्रकरणमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद ढाकाकुमार श्रेष्ठविरुद्ध पार्टीकै अनुशासन तथा आचरण समितिले छानबिन गरी प्रतिवेदन मंगलबार साँझ पार्टी नेतृत्वलाई बुझाएको छ । आफू स्वास्थ्य तथा जनसंख्यामन्त्री बन्न लागेको र त्यसका लागि दुई करोड चाहिने भन्दै उनले मेडिकल व्यवसायी दर्गा प्रसाईंसँग ‘डिल’ गरेका अडियो बाहिरिएपछि पार्टीको निर्देशनबमोजिम अनुशासन समितिले छानबिन गरी प्रतिवेदन बुझाएको हो ।

उक्त समितिले प्रतिवेदनमा सांसद तथा पार्टीका नेता श्रेष्ठलाई पार्टीको साधारण सदस्य र सांसद नरहने गरी कारबाही गर्न सिफारिस गरेको छ।

रास्वपा अनुशासन समितिका सदस्य, अधिवक्ता यज्ञमणि न्यौपानेका अनुसार श्रेष्ठले पार्टी र जनतालाई धोका दिएको निष्कर्ष निकाल्दै उनलाई तत्काल प्रतिनिधि सभा सदस्य पदबाट हटाउन सिफारिस गरिएको छ। उनलाई पदमा राखिरहँदा भ्रष्टाचारमा संरक्षण गरेको देखिने भएकाले पार्टीको साधारण सदस्य समेत नरहने गरी कारबाही गर्न पनि सिफारिस गरिएको छ।

अनुशासन समितिलाई दिएको बयानमा श्रेष्ठले प्रसाईंसँग टेलिफोन वार्ता गरेर २ करोड रुपैयाँ मागेको भनिएको अडियोको आवाज आफ्नो नभएको दाबी छन् । उनले आफूलाई नियोजित रुपमा फसाउन खोजिएको र यसबेला पार्टीले सहानुभूति राख्नुपर्नेमा जोड दिएका छन् । बयानका क्रममा श्रेष्ठले पार्टीले आफूलाई कारबाही गरे ‘कोर टिम’बारे खुलासा गर्ने चेतावनी समेत दिएको बताइएको छ ।

तर हालसम्म प्राप्त भएका तथ्य र श्रेष्ठको बयानका आधारमा अनुशासन समितिले कारबाही गर्न सिफारिस गरेको र त्यसबारे थप निर्णय केन्द्रीय समितिले गर्ने अनुशासन समितिका सदस्य न्यौपानेको भनाइ छ। केन्द्रीय समिति बैठक दिउँसाे २ बजे बस्दै छ । बिहान ९ बजेका लागि बाेलाइएकाे बैठक दिउँसाे २ बजेका लागि सरेकाे हाे ।

उक्त प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट पनि अनुसन्धान सुरु भएकाले पार्टीले त्यसमा सहयोग गर्नुपर्ने अनुशासन समितिको निष्कर्ष छ। रास्वपा अनुशासन समितिले सांसदलाई घुस अफर गर्ने व्यवसायी प्रसाईंमाथि पनि छानबिन हुनुपर्ने बताएको छ।

प्रकाशित मिति : २९ चैत्र २०७९, बुधबार ११:४०   :  बजे

81
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।