काठमाडौं । सेयर बजारमा आज (बुधबार) उछाल आएको छ । अर्थतन्त्र सकारात्मक रहेको समाचार आएसँगै लगानीकर्ताको मनोबल उच्च भएको देखिएको हो ।
पछिल्लो समय सेयर बजारमा लगानीकर्ताको मनोबल खस्किएको भान हुने गरी नेप्से परिसूचकसँग कारोबार रकम पनि घट्दै आएको थियो । तर सुखद समाचारसँगै बजारमा लगानीकर्ताको मनोबल बढेको देखिन्छ । गत सोमबारयता नेप्से परिसूचक लगातार बढ्दै आएको भएपनि बुधबार उच्च अंकले बढेको हो ।
बुधबार एकै दिन नेप्से परिसूचक ९२.२२ अंक बढेर १९६३.५५ विन्दुमा रोकिएको हो । मंगलबारको कारोबारबारको तुलनामा नेप्से ४.९३ प्रतिशतले वृद्धि भएको हो । यस दिन कारोबार रकम पनि बढेको छ । मंगलबार ९४ करोडको सेयर कारोबार भएकोमा आज भने एक अर्ब ९७ करोड रुपैयाँको सेयर करोबार भएको छ ।
आज २६७ धितोपत्रको ६१ लाख सात हजार ४२५ कित्ता खरिद–बिक्री भएको छ । यस दिन पाँचवटा धितोपत्रको मूल्य १० प्रतिशतले वृद्धि भएको छ । बढी मूल्य वृद्धि हुनेमा म्युचुअल फन्डको इकाइ रहेको छ । ११ वटा धितोपत्रको मूल्य नौ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ ।
यसदिन शिवम् सिमेन्टको एक ११ करोड ७१ लाख रुपैयाँको सेयर खरिद–बिक्री भएको छ । त्यस्तै, एनआईसी एसिया बैंकको ६ करोड २९ लाख रुपैयाँको सेयर खदिर–बिक्री भएको छ । कारोबारमा आएका १३ वटै समूहको परिसूचक वृद्धि भएको छ । सर्वाधिक परिसूचक वृद्धि हुनेमा फाइनान्स समूह रहेको छ । यो समूहको परिसूचक ६.८४ प्रतिशतले वृद्धि भएको हो ।
प्रधानमन्त्री, अर्थमन्त्री र नेपाल राष्ट्र बैंकका गभर्नरले बजारमा सकारात्मक सन्देश प्रवाह गरेका कारण लगानीकर्ताको मनोबल बढेको जस्तो देखिन्छ । अर्थमन्त्री डा. प्रकाशशरण महत महतले अर्थतन्त्र सुधार गर्न विभिन्न निकायसँग गरेको पहल, ब्याजदरको विषयमा देखाएको जिज्ञासा र सेयर बजारप्रति देखाएको चासोका कारण पनि बजारमा सकारात्मक सन्देश प्रवाह भएको हो । वाणिज्य बैंकहरुले बचतको ब्याजदर घटाउने निर्णय गरेसँगै सेयर बजारमा उछाल आएको हो ।




















प्रतिक्रिया