काठमाडौं । प्रतिनिधिसभा सदस्यको उपनिर्वाचन, २०८० का लागि जारी निर्वाचन आचारसंहिताअनुसार मदिराजन्य पदार्थ बिक्री वितरण नगर्न आयोगले चेतावनी दिएको छ ।
आयोगले मतदान हुने वैशाख १० गते आइतबार भन्दा ४८ घन्टा अघि (२०८० वैशाख ७ गते बिहीबारको राति १२ बजे) देखि मतगणनाको काम सम्पन्न नभएसम्म प्रचारप्रसार गर्न निषेध गरिसकेको छ ।
आयोगले यस अवधिमा उपनिर्वाचन हुने सम्बन्धित जिल्लामा आचारसंहिता प्रतिकूल हुने गतिविधिको निगरानी तथा नियन्त्रणका लागि सूक्ष्म अनुगमन गरिरहेको जनाएको छ । ‘आचारसंहिता पालना गराउने तथा निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ दफा २४ को उपदफा ५ को व्यवस्था कार्यान्वयनको अनुगमन गर्न विशेष संयन्त्रमार्फत् सूक्ष्म अनुगमन गराउने व्यवस्थासमेत मिलाइसकेको छ’, आयोगले विज्ञप्तिमा भनेको छ ।
आयोगले अनुगमन समितिहरूका अतिरिक्त विशेष अनुगमन टोलीसमेत खटाएको जनाएको छ । निर्वाचन आचारसंहिता, २०७९ को दफा ३२ बमोजिम आयोगबाट उपनिर्वाचन हुन गइरहेका सम्बन्धित जिल्लाका जिल्लास्थित कोष तथा लेखा नियन्त्रण कार्यालयका प्रमुखलाई निर्वाचन आचारसंहिता अनुगमन अधिकृत तोकिएको आयोगले जनाएको छ । मतगणना सम्पन्न नभएसम्म मदिराजन्य पदार्थ बिक्री वितरण तथा सेवनलाई नियन्त्रण गर्ने व्यवस्था मिलाउन नेपाल सरकार, गृह मन्त्रालयमार्फत निर्देशन दिइसकेको आयोगले विज्ञप्तिमा जनाएको छ ।
आयोगले निषेधको अवधिमा निर्वाचन प्रचार प्रसार लगायत कुनै पनि प्रकारका छलफल, अन्तक्र्रिया, सभा, सम्मेलन, कार्यशाला, गोष्ठी आदि गर्न तथा उम्मेदवारको पक्ष वा विपक्षमा कुनै पनि प्रकारको प्रचारप्रसार गर्न, मत माग्न, एसएमएस, फेसबुक, भाइबरजस्ता विद्युतीय माध्यम तथा सामाजिक सञ्जालबाट मत माग्न निषेध गरेको जनाएको छ । आयोगले विज्ञप्तिमा भनेको छ, ‘निर्वाचन आचारसंहिता विपरीत वक्तव्य दिन, प्रेस विज्ञप्ति निकाल्ने, प्रकाशन तथा प्रसारण गर्ने, सञ्चार माध्यमबाट जित वा हारको पूर्वानुमानका सामग्री प्रकाशन तथा प्रसारणजस्ता कार्य नगरी निर्वाचनको स्वच्छता र निष्पक्षता कायम गर्न आयोग पुनः जानकारी गराउँदछ ।’




















प्रतिक्रिया