विराटनगर । कोशी प्रदेश नामकरणप्रति असन्तुष्टि जनाउँदै आएका पहिचान पक्षधर र प्रहरीबीच झडप भएको छ । कोशी नाम खारेजको माग गर्दै आन्दोलन गर्ने क्रममा घाइते भइ मृत्युवरण गर्न पुगेका पदम लिम्बू लाजेहाङको शव प्रदर्शन गर्ने क्रममा विराटनगरको रोडशेषमा शनिबार प्रहरी र आन्दोलनकारीबीच झडप भएको हो ।
पहिचान पक्षधरले कोशी नाम खारेजको माग गर्दै गत चैत ५ गते विराटनगरमा गरेको बृहत प्रदर्शनका क्रममा प्रहरी र आन्दोलनकारीबीच झडप भएको थियो । सोही झडपमा परी लाजेहाङको टाउकोमा चोट लागेको थियो ।
टाउकोमा चोट लागेका उनलाई चैत ८ गते धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि भर्ना गरिएपनि १० गते उनको मृत्यु भएको थियो । मृत्यु भएकाे एक महिनापछि लाजेहाङको अन्त्येष्टि गर्न पीडित पक्षा सहमत भएका हुन् ।
विपी प्रतिष्ठान धरानको शव गृहमै रहेको लाजेहाङको शव अन्त्येष्टि गर्नुअघि धरानमा, इटहरी, विराटनगरको रोडशेष चोकमा श्रद्धाञ्जली अर्पण तथा श्रद्धाञ्जली सभा गर्ने र कोशी प्रदेशसभा परिक्रमा गराउने उनीहरुको कार्यक्रम थियो । सोही क्रममा झडप भएको हो ।
त्यस क्रममा झडप हुँदा विराटनगर तनावग्रस्त बन्यो । प्रहरीले ८१ राउन्ड अश्रुग्याँस प्रहार गरेको छ । मोरङ प्रहरी प्रमुख एसपी दीपक पोखरेलका अनुसार निषेधाज्ञा तोड्ने क्रममा झडप भएको हो । झडप सुरु हुनुअगाडि आन्दोलनकारीका तर्फबाट पेट्रोल बम प्रहार भएकाे प्रहरीकाे दाबी छ । झडपमा परी प्रहरी र आन्दोलनकारी गरी १२ जना घाइते भएको पोखरेलले जानकारी दिए ।




















प्रतिक्रिया