Logo

प्रमुख समाचार

लुम्बिनीमा पनि ढल्यो एमालेको सरकार, मुख्यमन्त्री गिरीले पाएनन् विश्वासको मत



रूपन्देही । लुम्बिनी प्रदेशमा पनि नेकपा एमाले नेतृत्वको सरकार ढलेको छ । प्रदेशसभाको सोमबारको बैठकमा मुख्यमन्त्री लिला गिरीले विश्‍वासको मत प्राप्त गर्न नसकेपछि एमाले सकारको नेतृत्वबाट बाहरिएको हो ।

संविधानको धारा १६८ को उपदफा ४ अनुसार मुख्यमन्त्री गिरीले सोमबार विश्वासको मत मागेका थिए । मुख्यमन्त्री गिरीको पक्षमा ३३ मत मात्र पर्यो भने विपक्षमा ५३ मत पर्यो । ८७ सदस्यीय लुम्बिनीको प्रदेश सभामा सरकार बनाउनका लागि ४४ मत आवश्यक पर्छ । तर, अहिले एमालेका २९ र राप्रपाका ४ गरी मुख्यमन्त्री गिरीले ३३ मत मात्र प्राप्त गरेका हुन् ।

पुस २७ गते ७ दलको समर्थनमा मुख्यमन्त्री बनेका गिरीले माघ ५ मा ८ दलका ५८ जनाबाट विश्वासको मत पाएका थिए । सरकार गठनको साढे तीन महिना र विश्वासको मत पाएको तीन महिनामै उनले दोस्रो पटक विश्वासको मतको सामना गरेका हुन् ।

उनलाई समर्थन गरेका माओवादीसहितका ५ दलले चैत १२ गते सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि उनले दोस्रो पटक विश्वासको मत मागेका हुन् । तर विश्वासको मत नपाएसँगै गिरी नेतृत्वको सरकार ढलेको हो ।

केन्द्रमा समीकरण फेरिसँगै एमाले नेतृत्वका प्रदेश सरकारहरु धरापमा परेका थिए । यसअघि गण्डकी र सुदूरपश्चिममा पनि विश्वासको मत प्राप्त गर्न नसकेपछि एमालेको सरकार ढलेको थियो ।

प्रकाशित मिति : ११ बैशाख २०८०, सोमबार १३:२९   :  बजे

30
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।