Logo

प्रमुख समाचार

पहिचान पक्षधरलाई ओलीको चुनौती– सक्छौ भने ‘कोशी’लाई दुई-तिहाईले संशोधन गरेर देखाओ



पाँचथर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सडकमा उफ्रेकै भरमा ‘कोशी’ नाम फिर्ता नहुने बताएका छन् । तीन दिनदेखि पाँचथरमा रहेका ओलीले शनिबार सदरमुकाम फिदिममा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले सके दुईतिहाई मतसहित संशोधन गरेर देखाउन आन्दोलित पहिचान पक्षधरहरुलाई चुनाैती दिए ।

ओलीले भने, ‘दुई चार जना केटा सडकमा उफ्रँदैमा प्रदेशको नामकरण हुँदैन, सक्छौं भने जनताको मन जितेर दुई तिहाइ मतसहित संसद् छिरेर संशोधन गरेर देखाओ ।’ प्रदेशसभाबाट विधि र प्रक्रियामा छिरेर गरिएको नाम कुनै हालतमा फिर्ता नहुने भन्दै उनले आन्दोलन छाड्न आग्रह गरे ।

एमाले अध्यक्ष ओलीकै जोडबलमा प्रदेश १ लाई जबरस्त ‘कोशी’ नामकरण गरिएको भन्दै पहिचान पक्षधर एमालेविरुद्व आक्रोशित भएका छन् । शुक्रबार मध्यान्न जन्मथलोमा निर्मित बहुप्राविधिक शिक्षालयको उद्घाटन गर्न पुगेका ओलीविरुद्व पहिचान पक्षधरहरुले केपी ओली मुर्दावाद भन्दै अवरोध सिर्जना गर्न खोजेका थिए ।

विरोधका बाबजुद ओलीले सुरक्षा घेराभित्रबाटै प्राविधिक शिक्षालयको भवन उद्घाटन र आठराई गाउँपालिकामा सञ्चालन हुन लागेको तमोर लिफ्ट खानेपानी आयोजनाको शिलान्यास गरेका थिए ।

पहिचानवादीले ओलीसँगै रहेका एमाले उपाध्यक्ष तथा सुवाष नेम्वाङविरुद्व ‘वंश गद्दार सुवाष नेम्वाङ मुर्दावाद’ भन्दै नारा लगाएका थिए । पहिचान पक्षधरहरुले ओली पाँचथर सदरमुकाम फिदिम आइपुग्दा मसाल जुलुस निकालेर विरोध जनाएका छन् । जुलुसमा सैयौंको उपस्थिति थियो ।

प्रकाशित मिति : १६ बैशाख २०८०, शनिबार १३:५१   :  बजे

30
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।